रमेश लम्साल र सिबी अधिकारी। काठमाडौं । आन्तरिक उडानमा रहेको निजी वायु सेवा कम्पनीले सुगम गन्तव्यमा उडाउने लक्ष्यका साथ ठूला छ विमान भित्र्याउन लागिपरेका छन् ।
निजी क्षेत्रका प्रतिष्ठित बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर र सौर्य एयरलाइन्सले प्रतिष्पर्धी बजारमा उपस्थिति जनाइराख्न ठूला विमान ल्याउन लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, धनगढी, नेपालगञ्ज र भैरहवामा नियमित उडान गर्ने लक्ष्यका साथ ठूला जहाज ल्याउन लागिएको विमान सेवा प्रदायक कम्पनीले जानकारी दिएका छन् ।
धेरैजसो विमानस्थलमा रात्रिकालीन उडान तथा अवतरणको सुविधासमेत उपलब्ध भएको र त्यस्तो सुविधा नभएका विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक लगानी विस्तार गरेपछि निजी वायु सेवा प्रदायकले बजार विस्तारलाई आक्रामक बनाएका हुन् । प्रतिस्पर्धी बजारमा उपस्थिति जनाउन र सहज सेवा दिएर व्यवसाय गर्ने लक्ष्यका आधारमा ठूला तथा मझौला आकारका विमान भित्र्याउन उनीहरु लागिपरेका हुन् । हवाई सेवा तथा सुविधा खोज्ने यात्रुको संख्यामा समेत बढोत्तरी भएको र आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएकाले पनि निजी हवाई सेवा प्रदायक सेवा विस्तार गर्न लागिपरेका हुन् ।
केही दिनमै बुद्ध एयरले सुगम गन्तव्यमा उडान विस्तार गर्न नयाँ एटिआर विमान भित्र्याउने तयारी गरेको छ । आगामी जेठ अन्त्यसम्म बुद्धको नयाँ जहाज काठमाडौँ आइपुग्नेछ । बुद्धले ७२ सिट क्षमताको एटिआर–७२ जहाज भित्र्याउन लागेको छ । यस्तै निजी क्षेत्रको अर्को विमान सेवा कम्पनी यति एयरलाइन्सले आगामी असार अन्तिम साता नयाँ एटिआर विमान भित्र्याउने तयारी गरेको छ । यस्तै निकट भविष्यमा थप तीन एटिआर जहाज भित्र्याउने तयारी गरिएको छ ।
एटिआरका अन्य विमान जस्तै यसमा पनि फराकिला सिट र सामानका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनि प्रदूषणको हिसाबले एटिआर जहाज निकै किफायती मानिन्छ । बुद्धसँग हाल १० विमान छन् जसमा ७२ सिट क्षमताका छ एटिआर, ४२ सिट क्षमताका तीन एटिआर र १८ सिट क्षमताका दुई बीचक्राफ्ट १९०० डी जहाज सञ्चालनमा छन् ।
यस्तै यता यति एयरलाइन्सले पनि झण्डै एक वर्षदेखि एटिआर ७२ विमानबाट सुगम गन्तव्यमा उडान भर्दै आएको छ । कूल ७२ सिटको उक्त विमान यति एयरलाइन्सले रु एक अर्बको लगानीमा खरिद गरेको हो । फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सले जनाएको छ । यतिको नयाँ जहाज आएपछि सुगम गन्तव्यमा उडान थप भरपर्दो र प्रभावकारी बन्ने विश्वास लिइएको छ । यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले बजार विस्तार हुँदै गएको र प्रतिष्पर्धा बढेका कारण नयाँ ठूलो जहाज ल्याउन लागिएको जानकारी दिए ।
श्री एयरका बजार व्यवस्थापक अनिल मानन्धरले सुगम गन्तव्यको उडानका लागि निकट भविष्यमा नै एक ठूलो जहाज ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । सो विमान कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि समेत नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणले हालसम्म अनुमति भने दिइसकेको छैन ।
सौर्य एयरका प्रबन्ध निर्देशक गोपाल भट्टराईले नयाँ एक जहाज भित्र्याउन लागिएको जानकारी दिए । हाल सौर्य एयरसँग दुई जहाज छन् । बजार विस्तार गर्ने लक्ष्यका साथ नयाँ जहाज ल्याउन लागिएको उनको भनाइ छ ।
नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्य ठूला विमानले हवाई यात्रामा यात्रुलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । “ठूला जहाज ल्याइनु र सेवा दिइनु असाध्यै सुखद् विषय हो”, उनले भने, “प्रतिष्पर्धी बजारमा टिक्नका लागि पनि नयाँ र ठूला जहाज ल्याउनु जरुरी भइसकेको छ ।” सीता एयरका महाप्रबन्धकसमेत रहनुभएका आचार्यले आफ्नो कम्पनीसँग चार डोर्नियर जहाज सञ्चालनमा रहेको जानकारी दिए । तत्काल जहाज थप्ने योजनामा आफू नरहेको उनको भनाइ छ ।
वायु सेवा प्रदायकले धमाधम नयाँ ठूला विमान भित्र्याउन थालेपछि विमानस्थलमा जहाजको चाप पर्ने देखिएको छ । विमानस्थलमा बिसानस्थलको अभाव रहेको छ । विमानस्थल प्रशासनलाई सहज रुपमा जहाज उडान तथा अवतरणको व्यवस्था मिलाउन समेत हम्मेहम्मे पर्ने अवस्था आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले ठूला जहाज आउँदा सेवा विस्तारमा सहजता उपलब्धता हुने भए पनि बिसान तथा उडान अवतरणमा भने चाप पर्ने देखिएको बताए ।
विमानस्थलमा साना तथा ठूला गरी ३० जहाज बिसान गर्न सकिन्छ । यस्तै अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने जहाज भने छ मात्रै बिसान गर्न सकिन्छ । नयाँ विमान थपिनेबित्तिकै बिसानस्थल उपलब्ध गराउन समस्या पर्ने देखिएको छ । नेपाल वायु सेवा निगमले हालै मात्रै चीनमा निर्मित कूल छ जहाज भित्र्याइसकेको छ । त्यसमा दुई एमए ६० र चार वाई १२ जहाज छन् । ती जहाज सुगम तथा दुर्गम गरी २३ गन्तव्यमा उडान गर्ने तयारी गरेको छ । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।रासस
।