सूचनाको शक्ति - The Power Of Information

        

बालबालिकालाई खोजी खोजी विद्यालय भर्ना

बुटवल । बैशाख २ गतेदेखि १४ गतेसम्मको अवधिमा उत्सवका रुपमा सबैतिर विद्यालय भर्ना कार्यक्रम चल्यो । तर, यो अवधिमा बुटवल–१७ रानीगञ्जको सुकुम्बासी बस्तीका कुनै पनि बालबालिका भर्ना भएनन् । त्यो सूचना नगरप्रमुख शिवराज सुवेदीसम्म आइपुग्यो ।

प्रमुख सुवेदीले तथ्यांक् संकलनका लागि भन्दै तत्कालै सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई निर्देशन दिंदै काममा खटाए । वडा अध्यक्ष सन्तबहादुर राना, सदस्य यमकली सुनारसहित केही अगुवा अभिभावकहरु त्यस्ता बस्तीका बालबालिकाहरुको तथ्यांक संकलन गरे ।

उमेर पुगका तर, विद्यालयमा नगएका एउटै टोलका छ जना बालबालिकाहरु फेला परे । उनीहरु पहिले विद्यालयमा भर्ना भएका तर, बीचमै छाडेर बसेका बालबालिका रहेछन् । करिब दुई वर्षदेखि उनीहरु स्कुल नै नगएका रहेछन् ।

‘बाबुआमा बिहानै काममा जानुहुन्छ, कहिले संगै जाम भन्नुहुन्छ नभए घर हेरेर बस भन्नुहुन्छ त्यसैले स्कुल आएनौं’ उनीहरुको भनाइ उदृत गर्दै वडा सदस्य तथा टोलकी अगुवा यमकली सुनारले भनिन ।

ती बालबालिकाहरुलाई पोशाक, झोला, कापी कलम देखि खाजा खर्चसमेत व्यवस्था हुने गरी नगर प्रमुख आफैले अभिभावकत्व ग्रहण गरे । विद्यार्थीहरु रिदम चौधरी, रमिला बलामी र ऋतिका चौधरीलाई भर्ना गराइयो । उनीहरु कक्षा दुई र तीनमा भर्ना भएको प्रधानाध्यापक कल्पना भण्डारीले जानकारी गराइन ।

त्यहाँ अरु दुई जना बालकहरु पनि नियमित विद्यालय आएका छैनन् । ११ वर्षीय विशाल सुनार र ९ वर्षीय सागर थारु बुधबार पनि भर्ना हुन आएनन् । नगरप्रमुखसहितको टोली उनीहरुको घरटोलमै पुग्यो । तर, उनीहरु आफन्तको विहेमा घर बाहिर गएकाले त्यहाँ कोही पनि फेला परेनन् । नगर प्रमुखले त्यहीँ वडा अध्यक्ष र सदस्यलाई उनीहरुलाई भर्ना गर्ने जिम्मा लगाए ।

बुधबार बिहान विद्यालय समयमा रानीगञ्जको जनशक्ति नमुना प्राविमा प्रमुख सुवेदी, शिक्षा शाखा प्रमुख लोकनाथ पन्थी, वडा अध्यक्ष सन्तबहादुर राना, सदस्य यमकली सुनार, पत्रकार अमृत गिरी, अभिभावकहरु पुष्पा विकलगायत थिए ।

भर्ना अभियान चलिरहेका बेलामा ३२ जना नयाँ बालबालिकाहरु भर्ना भएका छन् । यो संगै उक्त सुकुम्बासी बस्ती बीचको बिद्यालयमा अहिले दुई सय १० जना बालबालिकाहरु अध्यय्न गरिरहेका छन् । दरबन्दी, राहत, निजी स्रोतसमेत गरी आठ जना शिक्षक–कर्मचारीहरु कार्यरत छन् । यहीँ विद्यालयका लागि अहिले उपमहानगरले दुई लाख १० हजार भन्दा धेरै बजेट उपलव्ध गराएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार १५:३०