सूचनाको शक्ति - The Power Of Information

        

४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको नोट राष्ट्र बैंकद्धारा निष्कासन

काठमाडौं । हालसम्म ४ खर्ब ७४ अर्ब ९४ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकले नोट निष्कासन गरेको छ । १० अर्ब २७ करोड रुपैयाँ केन्द्रीय बैंकको बैंकिङ कार्यालयमा मौज्दात छ । जसमध्ये ४ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ चलनचल्तिमा रहेका छन् ।
मुद्रा व्यवस्थापन विभागले चालु आर्थिक वर्षको वित्तीय सार्वजनिक गरेको विवरणमा सो जानकारी गराएको हो । राष्ट्र बैंकले सुनचाँदी, विदेशी मुद्रा र ऋणपत्र धितो राखेर नोट निष्कासन गर्छ । केन्द्रीय बैंकले हालसम्म सुनचाँदी मात्र धितो राखेर नोट निष्कासन गर्दै आएको छ । विदेशी मुद्रा र ऋणपत्र धितो राख्नु परेको छैन् ।
नोट कारोबारमा सरकारले कडाई गर्दै निरुत्साहित पार्दै जाने योजना अघि सारेको छ । नोटको कारोबारको सट्टा विद्युतीय ट्रान्सफर, एटीएम र डेविट कार्डमार्फत कारोबार बढाउन थालेको छ । विद्युतीय वित्तीय कारोबार बढेपछि राष्ट्र बैंकले धेरै नोट निष्कासन गर्नुपर्दैन ।
गत चैतसम्म केन्द्रीय बैंकमा सरकारको २ खर्ब ८८ अर्ब ४१ करोड रुपैयाँ बचतमा छ । यस्तै वाणिज्य बैंकहरुको १ खर्ब २९ अर्ब ९७ करोड रुपैयाँ निक्षेप रहेको छ । केन्द्रीय बैंकमा ३२ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ विदेशी मुद्रा रहेको छ । बैंकको कुल सम्पत्ति बढेर ६ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।
२०७४ वैशाखदेखि २०७४ चैत मसान्तसम्ममा विभिन्न दरका १ खर्ब ३१ अर्ब ५६ करोड बराबरको ७८ करोड ७६ लाख थान नयाँ नोट बैंकमा भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार ०५:१५