सूचनाको शक्ति - The Power Of Information

        

३३ किलो सुन तस्करीका २८ जना विरुद्ध मुद्दा दर्ता

विराटनगर — जिल्ला प्रहरी कार्यालय मोरंगले ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा २८ जना विरुद्ध बुधबार अदालतमा मुद्दा दर्ता गराउँदै छ । यो काण्डमा हालसम्म पक्राउ भारतीय एवं नेपाली सुन व्यवसायी, नेता, तस्कर र प्रहरीहरुलाई उक्त कार्यालयको थुनुवा कक्षमा राखिएको छ ।  कसुर हेरी उनीहरु विरुद्ध कर्तव्य ज्यान, तस्करी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा लगाइने प्रहरीले जनाएको छ । तर, यो विषयमा मुद्दा शाखाका अधिकृतदेखि कार्यालय प्रमुखसम्म खुलेर बोल्न चाँहदैनन् । थुनामा रहेकाको व्यक्तिगत विवरण र पृष्ठभूमि बारे समेत उनीहरु जानकारी दिन मान्दैनन् । समग्रमा भन्दा उनीहरु ‘सुन’ शब्द नै उच्चारण गर्न चाँहदैनन् । विभिन्न बहाना बनाउँदै पन्छिन खोज्छन् । ‘गृहमन्त्रालयद्वारा गठित उच्च स्तरीय छानविन समितिले यो बारेमा राजधानीमै पत्रकार सम्मेल गर्छ, ’एक अधिकृतले भने,‘विस्तृत जानकारी गृह वा अदालतबाटै लिँदा बेस हुन्छ,उसै पनि कामको चाप छँदैछ, केही बोल्दा विवादमा परियो भने झनै खल्लो हुन्छ ।’

हिजोअस्तिसम्म साथै काम गरेका सहकर्मीहरुको बयान लिँदा चुनौती र कठिनाइ आउनु स्वभाविककै भएको एक प्रहरी अधिकृतले अनुभव सुनाए । ‘अदालतमा मुद्दा दर्ता नभएसम्म बोल्ने फुर्सद समेत छैन,’मोरंगका प्रहरी प्रमुख उपरीक्षक अरुण बीसीले भने,‘बयान गराएको कागतको पहाड खडा भएको छ ।’ कार्यालय परिसरमा भेटिएका उनको मुहारबाटै कामको दबाब प्रष्टै झल्किन्थ्यो ।

‘हिरासतमा रहेका सबैको मुद्दा बुधबार एकै पटक बुझाउने हो, थप दुई चार दिनसम्म नीकै दौडधुप हुन्छ ।’ यो प्रकरणमा पक्राउ र बयानको क्रम सुरु भएदेखि खाने र सुत्ने समय समेत नपाइरहेको उपरीक्षक बीसीले बताए । आरोपीलाई चलाइनु पर्ने मुद्दाको प्रस्तावसहितको प्रतिवेदन उक्त प्रहरी कार्यालयले सरकारी वकिललाई बुझाइसकेको छ । ‘त्यसमा पुर्नविचार र छलफलपछि प्रत्येक आरोपीमाथिको अभियोगको टुंगो लाग्ने छ,’उनले भने ।

गत माघ ९ मा दुबईबाट आएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट सेटिङं मिलाइ पास भएपछि ओसारपसारको क्रममा हराएपछि खोजबिन सुरु भएको थियो । त्यही सुन खोज्ने क्रममा मोरंग उर्लाबारीका सनम शाक्यको १८ साउनमा हत्या भएपछि यो प्रकरण सतहमा आएको थियो । nत्यसलगत्तै तीन आरोपीलाई प्रहरीले पक्राउ गरेको थियो । १४ फागुनमा काठमाडौंको गौरीघाटबाट हराएका शाक्यको सुन तस्करकै समूहले हत्या गरेको खुल्यो । उनको शव विराटनगरमा एक गाडीभित्र फेला परेको थियो ।

२९ फागुनमा उर्लाबारीवासीले शाक्य घटनाको निश्पक्ष छानबीन हुनुपर्ने भन्दै कृष्ण प्रधानको नेतृत्वमा गठन गरेको ५१ सदस्यीय संघर्ष समितिले प्रधानमन्त्री कार्यालयलाई गुहार्यो । प्रधानमन्त्रीको निर्देशनमा चैत ३० को मन्त्रिपरिषद् बैठकले संगठित अपराध ऐन,२०७० का दफा १२ अनुसार सहसचिव ईश्वर पौडेलको नेतृत्वमा ९ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेपछि यो घटनाले नयाँ मोड लियो । घटनास्थल झापा, मोरंग र काठमाडौंसम्म छानबीनको घेरा रहेको यो काण्डमा पक्राउ परेकाहरुको संख्या तीन दर्जन पुग्न लागिसकेको छ । स्रोतले भन्यो,‘बयान र मुद्दाको क्रम लामै चल्ला ।’

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ११:०१