काठमाडौं । नेपाल वायुसेवा निगमले पाइलट अभावको समस्या झेल्नु परेको छ । निगमले खुलाएको ४३ जनाको विज्ञापनमा १० जनाको मात्र आवेदन परेको हो । दुई महिना अघि निगमले खुलाएको विज्ञापनमा १० जना को पाइलटको मात्र नियुक्ति भएको छ । निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठका अनुसारका ४३ जनाको विज्ञापनमा १० जना नेपाली को पाइलटले मात्र आवेदन दिएका थिए ।
‘हामीले साना ठुला दुबै विमान उडाउन सक्ने क्याप्टेन पाइलट र को पाइलट दुबै पाइटलटको माग गरेका थियौं, तर १० जनाको मात्र आवेदन परेकोले अहिले १० सै जनालाई निगममा स्थाई जागिरका लागि नियुक्त गरेका छौं’, प्रवक्ता श्रेष्ठले भने ।
निगमले १० जना को पाइलटलाई ट्रेनिङमा राख्ने तयारी गरेको छ । उनीहरु तयार भएपछि मात्र विमान चीनबाट आएका १७ सिट क्षमताको दुई विमान उडाउनेछन् । निगमले चीनबाट एके भी र एके यू नामको १७ सिट क्षमताको जहाज ल्याएको छ । तर उडान गर्ने पाइटल नहुँदा सञ्चालनमा आउन सकेको छैन ।
निगमले गरेको विज्ञापनमा एयरबस ३३० का लागि क्याप्टेन पाइलट ६ जना, एयरबस ३२० का लागि क्याप्टेन ४ जना, बोइङ ७५७ को लागि ६ जना, एमए ६० को लागि ६ जना डीएचसी ६ र वाई १२ को लागि ११ जना, एयरबसका लागि को पाइलट ६ जना र बोइङको लागि ६ जना को पाइलट गरी ४३ जना पाइलटका लागि विज्ञापन खुलाएको थियो ।
अहिले नियुक्ती दिएका सबै नेपाली को पाइलट हुन् । अन्तराष्ट्रिय पाइलट ल्याउनका लागि सम्बन्धित देशमा इमेल तथा सञ्चार माध्याममा विज्ञापन गर्ने निगमले तयारी थालेको छ ।
।