सूचनाको शक्ति - The Power Of Information

        

पाँच वर्षमा नेपालीको खर्चयोग्य आय साढे ४७ प्रतिशत


काठमाडौं । विगत पाँच वर्षयता नेपालीको खर्च गर्न सक्ने क्षमतामा वृद्धि हुँदै आएको छ । नेपालीको आयस्तरमा वृद्धि भएका कारण खर्चयोग्य आयमा वृद्धि भएको हो । आर्थिक वर्ष २०७०/७१ मा २६ खर्ब २८ अर्ब ७९ करोड रहेको नेपालीको खर्चयोग्य आयमा वृद्धि भएर चालू आवमा ३८ खर्ब ७७ अर्ब २६ करोड पुगेको हो ।
देशभित्र आर्थिक क्रियाकलाप बढ्दा खर्चयोग्य आयमा वृद्धि हुँदै आएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले बताए । ‘कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदान दिने सबै आर्थिक क्रियाकलापमा बढोत्तरी भएको छ,’ उनले भने, ‘नेपालीको प्रतिव्यक्ति आय बढ्दा खर्चयोग्य आयमा पनि वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा ३५ खर्ब २५ अर्ब ३९ करोड रहेको नेपालीको खर्चयोग्य आय चालू आवमा तीन खर्ब ५१ अर्ब ८७ करोडले वृद्धि भएको छ । नेपालीको कमाइ नै बढेका कारण खर्च गरे पनि बचतमा पनि केही वृद्धि हुँदै गएको छ । गत वर्षसम्म ११ खर्ब ९८ अर्ब ५४ करोडमात्र बचाउन सफल भएका नेपालीले यस वर्ष बचतलाई समेत बढाएर १३ खर्ब २१ अर्ब ३६ करोड पु¥याएका छन् । यसको अर्थ एक सय कमाउने नेपालीले अब १५ रुपैयाँ बचाउन थाल्यो भन्ने हो ।
चुनवा तथा संघीयता कार्यान्वयनका कारण स्थानीयस्तरमा खर्च बढ्नुका साथै रोजगारी समेत सिर्जना भएको र हुँदै गरेकाले नेपालीले कमाउन थालेको तथ्यांकले देखाएको छ,’ विभागका निर्देशक डा. विष्णुमोहन भट्टराईले भने, ‘पुनर्निर्माण तथा निर्माण कार्यले तीव्रता लिँदा गाउँमै रोजगारी सिर्जना भएको छ ।’ यसले प्रतिप्रत्ति आयमा समेत बढोत्तरी भएकोे तथ्यांकले देखाएको उनले बताए ।
देशमा पुनर्निर्माण तथा ठूला आयोजना निर्माणले गति लिँदा नेपालीको कमाइ बढ्दा बचत पनि बढ्न गएको पूर्वअर्थ डा. सचिव शान्तराज सुवेदीले बताए । ‘यसको अर्थ देश समृद्धितर्फ अगाडि बढी रहेको छ भन्ने हो,’ उनले भने, ‘यस्तै हो भने हामीले चाहेको जस्तै आर्थिक वृद्धि गर्न सक्छौं ।’ एक वर्षको अन्तरालमा नेपालीको प्रतिव्यक्ति आय १३८ डलरले बढेर एक हजार चार डलर पुगेको छ, उनले भने, ‘आय बढेपछि मानिसले खर्च पनि गर्छ ।’
२०५७/५८ सम्म नेपालीको प्रतिव्यक्ति आय २५९ डलरमात्र थियो । उनका अनुसार अहिलेको कमाइ अन्य देशको तुलनामा राम्रो नभए पनि नेपाल पनि विस्तारै समृद्धि पथमा अघि बढ्दै गएको प्रमाणित गरेको छ । भलै हामी विकासशील देशमा चालू आवमा उक्लन सकेनौ तर अहिलेको कमाइ भनेको त्यति नराम्रो भने होइन ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १०:३०