सूचनाको शक्ति - The Power Of Information

        

ट्यांकरमा जोडियो आधुनिक ‘लकिङ सिस्टम’, तेल चोरी तथा मिसावट रोकिने


बाँके । नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम ढुवानी गर्ने ट्यांकर लक (साँचो लगाउने) सिस्टम लागु गरेको छ । विराटनगरबाट ट्यांकर लक सिस्टम सुरु गरेको एनओसीले नेपालगन्जमा पनि यो सिस्टम सुरु गरेको छ । यसअघि भैरहवामा पनि ट्यांकर लक सिस्टम सुरुवात गरिसकेको एओसीले बिहीबारदेखि नेपालगन्जमा पनि यसको सुरुवात गरेको हो ।
पेट्रोलियम ढुवानी गर्ने ट्यांकर लक गर्ने सिस्टम नेपालमा पहिलो पल्ट भित्र्याएको एनओसीले लामो प्रयासपछि यो सिस्टम सुरु गरेको जनाएको छ । ढुवानीका क्रममा बाटोमा हुने पेट्रोलियम पदार्थको चुहावट तथा मिसावट रोक्न ट्यांकर लक सिस्टमको सुरुवात गरिएको एनओसीका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई जानकारी दिए ।
मुलुकभर सञ्चालनमा रहेका पेट्रोलियम ढुवानी गर्ने ट्यांकर लक सिस्टम लागु गर्ने चरणमा रहेको भन्दै उनले भने, ‘पहिलो चरणमा सबै भारतीय नाकाबाट निगमको डिपोसम्म ट्यांकर लक गर्ने प्रक्रिया पुरा गरिने छ । दोस्रो चरणमा निगमदेखि पम्पसम्म जाने ट्यांकर लक गर्ने प्रक्रिया शुरु हुन्छ ।’ ट्यांकर व्यवसायीले आफ्नो ट्यांकरमा भारतको पेट्रोलियम एक्स्प्लोसिभ एन्ड सेक्युरिटी अर्गनाइजेसन (पीईएसओ)को स्ट्यान्डर्डको सेक्युरिटी लक राख्नुपर्नेछ ।


निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)को सहयोगमा ट्यांकर लक गर्ने प्रक्रिया अघि बढाएको हो । ट्यांकरमा साँचो लगाउने जिम्मा निगमले आईओसीलाई दिएको छ । ‘आईओसीले ट्यांकरमा पेट्रोलियम पदार्थ भरेपछि लक लगाउँछ,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘नेपाल आयल निगमको डिपोले मात्र आईओसीमा लगाएको लक खोल्न सक्छ, त्यसको साँचो डिपोमा मात्र हुन्छ ।’ उनका अनुसार सबै नाकाबाट निगमको डिपोसम्म आउने ट्यांकरमा आईओसीले लक गरेर पठाउनेछ ।
लक राखेपछि भारतबाट आयात हुने पेट्रोलियम चुहावट नियन्त्रण हुने निगमको बिश्वास छ । पेट्रोलियम पदार्थ चुहावट रोक्न दुई कम्पनीबीच सम्झौता भई ताला लगाउन सुरु गरेको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए । ‘यो प्रविधि प्रयोग गर्न धेरै ढिला भइसकेको थियो,’ उनले भने, ‘सुधारको प्रयास स्वरुप लकिङ सिस्टम सुरु गरेका हौं ।’ आइओसीले पेट्रोलियम पदार्थ लोड दिएर ताला लगाएर पठाएपछि ट्यांकरको ताला निगमको डिपोमा आएर मात्र खोलिने उनले बताए ।


अहिलेसम्म सामान्य ताल्चा लगाउँदै आएकोमा निगमले आइओसीले डेढ दशकअघिनै प्रयोगमा ल्याएको प्रविधि यहाँ सुरु गरिएको छ । ट्यांकर व्यवसायी तथा चालकले तेल चोरी गर्ने तथा मिसावट गर्ने गुनासो आइरहेका बेला सुरु गरिएको ट्यांकर लक सिस्टमले तेल चोरी तथा मिसावट रोक्न प्रभावकारी बन्ने एनओसी मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमूख विनितमणी उपाध्यायले बताए ।
एनओसीका अनुसार मुलुकभर सञ्चालनमा रहेका १८ सय ट्यांकरमध्ये सात सयले लकिङ सिस्टम जडान गरिसकेका छन् । ‘नयाँ सबै ट्यांकरमा लकिङ सिस्टम जडान भइसकेको छ,’ क्षेत्रीय प्रमूख उपाध्यायले भने, ‘विगतमा सामान्य सिल लगाउँदा अपचलन भएको गुनासो आएकाले नयाँ प्रविधि प्रयोगमा ल्याइएको हो ।’ भारतमा सफल भइसकेकाले यहाँ आशंका गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।
दुई वर्षअघि निगम र पेट्रोलियम डिलर्स एसोसिएसनबीच यो प्रविधि प्रयोग गर्ने भएको सहमति अनुसार यो सिस्टम सुरु गरिएको क्षेत्रीय प्रमूख उपाध्यायले बताए । उनले भने, ‘दुई वर्षको प्रयासपछि लकिङ सिस्टम सुरु भएको छ । तारको सट्टा अहिले रड प्रयोग गरिएको छ । यसले गुणस्तर र परिणाममा आउने कमी हटाउने विश्वास लिइएको छ ।’ तेल चोरी गर्दा निगमलाई ठूलो घाटा हुने गरेको छ भने मिसावटले प्रदुषणका साथै सवारी साधनमा समस्या ल्याउने र उपभोक्ता ठगिने गरेका छन् ।


आइओसीबाट निजी ट्यांकरले तेल ल्याउँदा चोरी भएपछि निगमद्वारा गठित एक कार्यदलले ‘सेक्युरिटी लकिङ सिस्टम’ प्रयोग गर्न सुझाएको थियो । भारतबाट तेल ल्याउँदा बीच बाटोमा ट्यांकरबाट तेल झिक्ने गुनासो छ । ट्यांकरमा लगाएको अहिलेको सिल कमजोर भएकोले ढुवानीको क्रममा बीच बाटोमा चोरी हुने गरेको बताइन्छ । यो प्रविधि प्रयोग गरेर निगमका कर्मचारी, चालक, व्यवसायीको मिलमतोबाट हुने चोरी रोक्न सकिने अपेक्षा गरिएको छ ।
यसका लागि विशेष किसिमको ताल्चा र साँचो निर्माण गरिएको छ । उक्त ताल्चा अन्य कम्पनीले साँचो तयार गर्न नसक्ने खालको रहेको उनले बताए । ‘यहाँ प्रयोग हुने ताल्चा र साँचो अन्य कुनै कम्पनीले नक्कल गर्न सक्दैन,’ क्षेत्रीय प्रमूख उपाध्यायले भने, ‘उच्चस्तरीय प्रविधि भएकोले यो विश्वसनीय छ ।’ यो प्रणालीमा ट्यांकरको ढक्कनदेखि तलसम्म रड जोडेर ताल्चा लगाइन्छ । निगमको इन्जिनियरिङ विभागले निकै उपयोगी र वैज्ञानिक प्रविधि भनेर यो प्रविधि सिफारिस गरेको थियो ।
त्यसको लागि ट्यांकरमा जडान गरेका डोम कभर, हिन्ज, पाइप लाइनको डेलिभरी भल्व, पाइपलाइनमा जडान भएको फ्लेन्ज आदिको डिजाइन परिवर्तन गरिन्छ । यो परिवर्तन गर्न लाग्ने खर्च सम्बन्धित ट्यांकर धनीले बेहोरेका छन् । निगमका अनुसार नेपालमा वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थ आयात हुन्छ । पेट्रोलियम पदार्थ कारोबारको एकाधिकार निगमको भए पनि ढुवानी गर्ने ट्यांकर निजी क्षेत्रका छन् ।


नेपालमा झन्डै १५ सय ट्यांकरले पेट्रोलियम ढुवानी गर्दै आएका छन् भने नेपालगन्जमा ११० ट्यांकरले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका छन् । नेपालगन्जमा ट्यांकर लक सिस्टमको उद्घाटन गरी बिहीबारदेखि नै त्यसको सुरुवात गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै बाँकेका प्रमूख जिल्ला अधिकारी रमेश केसी, एनओसीका प्रवक्ता विरेन्द्र गोइत, आइओसी मुम्बई मार्केटिङ विभागका चिफ जनरल मेनेजर एसएस बोसको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार ०८:४०