बुटवल । सुकुम्बासी बस्तीले भरिएको बुद्धनगरका ८६ वर्षीय नरबहादुर आले लामो समयदेखि शरीर चिलाएर हैरानीमा थिए । आफै हिंडेर अस्पतालसम्म जानसक्ने उनको क्षमता थिएन् । केही समयदेखि छालासम्बन्धी रोगले उनी सताइएका रहेछन् । उनका छिमेकी ७० वर्षीय गोपीराम परियार तथा ५० वर्षीय कृष्णबहादुर अर्गेली मगर पनि त्यस्तै समस्याले सताइएका रहेछन् ।
उनीहरुलाई पनि लामो समयदेखि शरीर चिलाउन समस्या रहेछ । वडाका अध्यक्ष र केही सदस्यहरुलाई कुनै जमघटमा कसैले बुद्धनगरमा छाला सम्बन्धी समस्याका धेरै विमारीहरु रहेको कुरा सुनायो । यो खबर वडा अध्यक्ष हुँदै उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीसम्म पुग्यो । सुवेदीले तत्कालै स्वास्थ्य इकाईका डाक्टर रमेश केसी र नगर स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई शिविर राख्न निर्देशन दिए ।
सोही अनुरुप बुधबार बिहान बुद्धनगरमा छाला तथा यौनरोग विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोली लिएर नगर प्रमुख सुवेदी आफै पुगेका थिए । त्यसक्रममा त्यहाँ उनले पैसाका अभावमा कुनै पनि नागरिकले प्राथमिक औषधि उपचारको सेवाबाट बञ्चित हुनु नपर्ने गरी आफुहरुले कार्यक्रम बनाएको सुनाए ।
लुम्बिनी अञ्चल अस्पतालमा छाला तथा यौन रोगका विशेषज्ञ डाक्टर श्यामराज उपाध्याय र अञ्जना काफ्लेसहित स्वास्थ्यकर्मीहरु पदम अर्याल, अभिनाश अधिकारी, ज्योति शर्मा, शोभा राना, विन्दु अर्याल तथा खिमबहादुर पौडेलसहित स्वास्थ्य स्वयम्सेविका र सहयोगीहरु शिविरमा खटिएका थिए । बुुद्धनगरका अधिकांशमा छाला सम्बन्धी रोगको समस्या रहेछ ।
खासगरी सरसफाईको कमी, फोहरजन्य पानीको प्रयोगलगायतका कारणले फंगल इन्फेक्सनका धेरै विरामीहरु त्यहाँ रहेछन् । उनीहरुलाई बुधबार चेक जाँच गरेर निशुल्क रुपमा औषधिसमेत दिइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । बुधबार चेक जाँच गरिएका २४७ जना विरामीमध्ये अधिकांशमा दाद सम्बन्धी समस्या पाइएको वडा नं. ११ का नगर स्वास्थ्य केन्द्रका अधिकारी पदम अर्यालले जानकारी दिए ।
फंगल इन्फेक्सन एक प्रकारको दाद र सरुवा प्रकृत्तिको रोग हो । यहीँ समस्यामा त्यहाँका अधिकांश मानिस प्रभावित भएका रहेछन् । त्यस्तै ड्रमटाइटिस, भर्सीकुलारी, लिम्फमा तथा पोरियासी नामक छालासम्बन्धी रोग शिविरमा आएकाहरुमा देखिएको उपमहानगरका स्वास्थ्य इकाइ प्रमुख डा.केसीले बताए । उपमहानगरले यसअघि १९ वटै वडाका प्रत्येक टोलमा पुगेर ज्येष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको थियो ।
यसअघि उपप्रमुख गुमादेवी आचार्यको नेतृत्वमा नगरका ९५ वर्ष उमेर समूहका सबै ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर एक हजार नगद र पौष्टिक आहार वितरण गरिएको थियो । दुई दिनअघि बुटवल–२ मा ज्येष्ठ नागरिकहरुको आँखा जाँच गरी औषधि र चश्मा वितरण गरिएको बताउँदै उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले यो स्वास्थ्य शिविर नियमित जारी रहने बताए ।
।