सूचनाको शक्ति - The Power Of Information

        

धरहरा बनाउन १५ दिनभित्र टेन्डर, कस्तो बन्दैछ ? (भिडियोसहित)


काठमाडौं । नेपालमा लिफ्ट चढेर अग्ला भवनमा चढ्ने तपाईंको सपना अब पूरा हुने भएको छ । लामो समयदेखि विभिन्न विवादमा फस्दै आएको धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २२ तले धरहरा निर्माण गर्ने तयारी गरेको छ । नयाँ निर्माण हुन लागेको धरहरामा लिफ्ट जडान गरिने छ ।
आगामी दुई वर्षभित्र अत्याधुनिक धरहरा निर्माण गरिने भएको छ । त्यसको लागि प्राधिकरणले १५ दिनभित्र धरहरा निर्माणका लागि ग्लोबल टेन्डर निकाल्ने तयारीमा लागेको छ। २२ तले धरहरामा अध्याधुनिक सबै प्रकारको सुविधा उपलब्ध गराइनेछ । सो धरहरामा लिफ्टका अलावा सीसीटिभी तथा वातानुकलित बनाउन अन्य उपकरणसमेत जडान गरिनेछ ।
धरहराको टुप्पामा बसेर काठमाडौं उपत्यकाको अवलोकन गर्न मिल्ने बनाइने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान महर्जनले अत्याधुनिक धरहरा निर्माणको प्रक्रिया शुरु भएको बताए । प्राधिकरणका सचिव अर्जुन कार्कीले १५ दिनभित्र ग्लोबल टेन्डर गरिने जानकारी दिए ।
‘एक हप्ताभित्र पनि सूचना निकाल्न सकिन्छ, बढी नै लाग्यो भने १५ दिनमा हामी ग्लाबेल टेन्डर निकाल्छौ,’ सचिव कार्कीले भने । प्राधिकरणका अनुसार २२ तले धरहराको लागत करिब रु ४ अर्ब हुनेछ । सो धरहराको आवश्यक डिजाइन तयार भइसकेको छ । चार अर्बभित्रै भ्याट र मूल्य वृद्धिसमेत समेटेर टेन्डर गर्न लागिएको प्राधिकरणले जनाएको छ । नेपाली ढाँचा, नयाँ निर्माण सामग्री र आधुनिक भवनसहितको धरहरा निर्माण गरिनेछ ।
ग्लोबल टेण्डर निकालेको २ महिनाभित्र निर्माणकर्ता कम्पनी परिचालित गर्ने तयारी गरिएको छ । जमिनमाथी ८१.२ मिटर अग्लो हुने धराहराको २२औं तल्लासम्म लिफट् हुनेछ र सोही तल्लाबाट उपत्यकाको अवलोकन गर्न सकिनेछ । एकैपटक ५० जनाभन्दा बढीले अवलोकन गर्न सक्नेछन् । धरहरा निर्माणका लागि एक अर्ब रुपैयाँ नेपाल टेलिकमले उपलब्ध गराउने र ‘मै बनाउँछु मेरो धरहरा अभियान’बाट हालसम्म २४ करोड रुपैयाँ संकलन भइसकेको छ ।
नयाँ धरहरामा पुरानो धहराको ६ रोपनी, सुन्धाराको १० रोपनी र गोश्वारा हुलाकको १२ रोपनी गरी २८ रोपनी समेटने तयारी गरिएको छ । अन्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथि ३६ फिटको गुम्बज निर्माण गरिनेछ । सुुन्धारा क्षेत्रलाई पुनर्निर्माण गरेर संरक्षण गरिनेछ । धरहरा आपसापसमा कफी सप, लाइब्रेरी जस्ता व्यवसाय सञ्चालन हुनेछन् । प्राधिकरणले भूकम्पका कारण ढलेको धरहरालाई काँचको पर्दाले छोपेर राख्ने र भावी पुस्तालाई गोरखा भूकम्पको विनास देखाउने तयारी गरिएको छ । सर्वसाधारण काँचभित्रै प्रवेश गरेर भत्किएको धरहरासमेत हेर्न सक्नेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ११:१५