सूचनाको शक्ति - The Power Of Information

        

पानी सुक्न थालेपछि छट्पटाउँदै माछा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् । बढ्दो गर्मीसँगै तालमा पानीको सतह घट्दै जान थालेपछि संरक्षण गरिएका माछा मर्ने सम्भावना बढेको हो । थोरै पानीमा धेरै माछा रहेकाले आवश्यक आहार र प्रर्याप्त विहार गर्ने ठाउँ नहुँदा माछाको अस्तित्व खतरामा परेको मणिका धाममा बस्दै आएका साधु आनन्द गिरीले बताए ।
‘एउटै माछाको तौल १० देखि १५ किलोग्राम भन्दा बढी छ,’ उनले भने, ‘तालमा पानी एक तिहाइ पनि छैन, माछा मर्ने सम्भावना निकै बढी छ । जोगाउनका लागि सम्बन्धित निकायले चासो नदिए तालमा रहेका माछाका प्रजाति लोप हुने संभाबना छ ।’ वर्षातका बेला उत्तरतर्फको पहाडबाट आउने भेलले ताललाई पुर्दै आएकामा बचाउनका लागि चासो नदिँदा यस्तो अवस्था आएको यहाँका बासिन्दा बताउँछन् ।
ताल प्रतिवर्ष दुई मिटर बढीका हिसाबले पुरिँदै जान थालेको छ । पर्यटकीय क्षेत्रमा ल्याइएको धारामा समेत पानी आउने क्रम बन्द भएको छ । लाखौं रुपैयाँ खर्चेर बनाइएको खानेपानी आयोजनामा मसिनो पाइप राख्द चुना भरिएर पानी आउने क्रम बन्द भएकाले पर्यटकीय क्षेत्रमा पुग्ने अवलोकनकर्ताले सास्ती खेप्नुपरेको छ । तालमा लहरै उफ्रने माछा हेर्नका लागि पर्यटक यहाँ आउने गर्दछन् । रासस

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ०८:०६