बिहानै फेसवुक खोले, तीन वर्षअघि मैले फेसबुकमा पोष्ट गरेको फोटो र भिडियो फेरि त्यो महाभूकम्पको स्मरण गरायो । कुरा तीन वर्षअघि आजकै दिनको । भनिन्छ, सपना केवल सपना नै हो, सपना कहिले पुग्दैन्, बन्द आँखाले देखेको सपना त झनै कहिले पनि पुरा हुँदैन । तर मलाई त्यस्तो भएन । तीन वर्षअघि आजकै दिन, बिहानै ४ बजे आँखा खुल्यो, आज किन मैले सपनामा भत्किएको ठुटो धरहरा देखे ? मनमा प्रश्न उठ्यो, ह्या सपना जे पनि देखिन्छ भन्ने लाग्यो । कति पटक धरहरा चढ्न जाने सोचले पुग्थे, तर आँट नै गर्न सकिन । किन देखे सपना भन्ने कौतुलता जाग्यो, त्यति बेलासम्म मलाइ थाहा थिएन कि सपना पनि कहिलेकाहिँ बिपनामा परिणत हुन्छ ।
छिमेकीको घरको पुजामा निम्ता मान्न गएकी थिए । घर बाहिर आँगनमा पुजा चलिरहेको थियो, त्यहि महिलाहरु रोटी पकाउने काममा ब्यस्त थिए । आँगनमै म पनि उनीहरुलाई काममा सहयोग गर्दै थिए । पुजामा गुरुहरुको पाठ, फुलमाला र सजिएको घर मगमगाउदो धुपको बास्नाले सबैलाई आन्नद दिइरहेको थियो । सबै आआफ्नो काममा लागिरहेका थिए । एक्कासी जमिन थर्किएको, घर हल्लिएको आवाज कस्तो अनौठो गरेर आयो, सबैले चिच्याउदै भूकम्प भने । मैले भने भूकम्पको महशुस पहिलो पटक गर्दै थिए । कहिलेकाहिँ जाने सानातिना भूकम्प मैले थाहा नै पाएको थिइन । क्षणभरमै रोकिएला भन्दाभन्दै लामो समय नै हल्लिएपछि सबैमा भागाभाग भयो । त्यहाँ भएका सबैले आ आफनो घरको चिन्ता गरिरहेका थिए, मेरो पनि घरमा बच्चाहरुतर्फ ध्यान मोडियो । घरमा बच्चाहरु एक्लै भएकोले म पनि आत्तिए चिच्याउदै गर्दा सबै बाहिर निस्के, त्यति बेलासम्म पनि मलाई खासै डर लागेको थिएन । किनकी, आफ्नो आँखाले कुनै नोक्सान नै देखेको थिइन ।
तुरुन्तै फेसबुकमा स्टाटस लेखे पोखरामा डरलाग्दो भुकम्प…त्यसपछि तुरुन्तै इन्टरनेट र फोनले काम गर्न छोडयो, केहिक्षणमै अर्को कम्पन गयो, सबैलाइ त्रसित बनायो, सबैतिर होहल्ला र कोलाहल मच्चिएको थियो । केहि समयपछि इन्टरनेटले काम गर्यो, सबैभन्दा पहिलो पोष्ट देख्दा मेरो होसहवास नै उड्यो, सामाजिक सञ्जालमा कुनै ब्यक्तिको पोष्ट थियो, भूकम्पले धरहरा भत्कियो, थुप्रै ब्याक्तिको ज्यान गएको आशंका…। झस्याङ्ग भए राती देखेको सपनाको याद आयो सपनामा मैले देखेको धरहराको तस्वीर र विपनामा त्यो तस्वीर उस्तै थियो । यो कुरा अरुलाई पनि सुनाए सबैलाई चिन्ताको बिषय बन्यो त्यस पल । त्यसलगत्तै एकपछि अर्को दुर्घटना कहाली लाग्दा खबरहरुले सम्पूर्ण देशवासीलाई रुवायो, सामाजिक सञ्जाल र न्यूजमा आएका दृष्यहरु आज फेरि ताजा भएका छन् । आजको यो दिन सायदै भुल्न सकिएला, देशले हजारौं ब्यक्ति गुमाएको कालो दिनभन्दा पनि कुनै फरक नपर्ला ।
२०७२ वैशाख १२ गते आजकै दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर बिनासकारी भूकम्प जसले थुप्रै जनधनको क्षति भयो । त्यसको तीन वर्ष बितिसक्दा पनि पिडीको घाउमा मलम लाग्न सकेको छैन । भूकम्पमा ८ हजारभन्दा बढीको ज्यान गएको थियो । उनीहरुको नाममा तेस्रो स्मृति दिवस भइरहँदा ज्यान गुमाएकामध्ये कतिको त शव पोस्टमार्टम भए पनि अझै सनाखत नभएको अवस्था छ । पीडितको घरमात्रै होइन, भत्किएका धरहरा, रानीपोखरी, काष्ठमण्डप लगायतका ऐतिहासिक सम्पदा बनाउने काम पनि हालसम्म अलपत्र अवस्थामा छ । क्षतिग्रस्त संरचनाले अझै आकार लिन सकेका छैनन् भने कैयन भूकम्पपीडित अझै पनि टहरामै बसिरहेका छन् । सरकारले उपलब्ध गराउने भनिएको सहुलियत ऋण पनि झन्झटिलो बैंकिङ्ग प्रक्रियाका कारण लिन नसकेको अवस्था छ । कतिपय घर भत्किएका, आर्थिक अवस्था कमजोर भएका पीडितहरु लालपूर्जा नभएका कारण भत्किएका घर मर्मत तथा पुनःनिर्माणका लागि ऋण समेत झिक्न नपाउँदा समस्यामा छन् । जीर्ण बनेका कतिपय सम्पदाहरु टेका लगाएर राखिएका छन् । सरकारी कार्ययोजनामा यी सबै सम्पदा ५ वर्षभित्रै सक्ने प्रतिबद्धता छ, तर पुरातात्विक सम्पदाको पुनःनिर्माण गर्ने लक्ष्य भने कागजमै सीमित रहेको छ ।
भूकम्प प्रभावितलाई घर बनाउन अनुदान स्वरुप दिने भनिएको ३ लाख रुपैयाँ अप्ठेरो कार्यविधिका कारण कार्यान्वयनमा समस्या भएको छ । ७ लाख ६७ हजार घर भत्किएका थिए भने ७५३ वटा पुरातात्विक संरचनामा क्षति पुगेको छ । घर भत्किएका प्रभावितलाई सरकारले ३ चरणमा ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेपनि अहिलेसम्म सबैले त्यो रकम पाउन सकेका छैनन् । तीन वर्ष भएछ, भूकम्पले तन्डव मच्चाएको, यो बीचमा न धरहरा उठ्न सक्यो न त सबै भत्किएका टहराहरु नै । लाग्छ कति जनताहरु अझ टहरामा छन् । भूकम्पपछि ३ वटा वर्षायाम र ३ वटा जाडो उनीहरूले टहरामै कटाए । प्रकृतिको मारभन्दा सरकारले आशावादी बनाएर दिएको मार बढी छ । पाँच सरकार फेरिए, नागरिकका त्रिपाल फेरिएनन्, सरकारको चाल फेरिएन । आशा छ, अब स्थायी सरकार बनेको छ । गाउँगाउँमा सिंहदरवार जाने सपना पुरा हुनेछ, देशले काँचुली फेर्नेछ । आगामी दिनमा कहिले पनि प्रकृतिले यति भयानक मार दिने छैन वा यस्तो घटना भोग्नुपर्ने छैन । बन्द आँखाले देखेको सपना पुरा हुनेछैन, सबै नेपाली जनताले खुला आँखाले देशको प्रगति देख्न पाउनेछन् । भूकम्पमा परि ज्यान गुमाएकाहरु प्रति श्रद्धासुमन ।।
।