सूचनाको शक्ति - The Power Of Information

        

हजारौं लिटर डिजेल भारत ‘सप्लाई’, अभाव खेप्दै नेपाली व्यवसायी

बाँके । नेपाल आयल निगमले उपभोक्तालाई सहुलियतमा वितरण गर्न पेट्रोल पम्पलाई उपलब्ध गराएको डिजेल निर्बाध रुपमा भारत ‘सप्लाई’ भइरहेको छ । तराईका सीमावर्ती बजारमा भित्रने भारतीय सवारीसाधनले दैनिक हजारौं लिटर डिजेल भरेर फर्कने गरे पनि नियन्त्रणका लागि प्रभावकारी काम भएको छैन । यसका कारण नेपाली व्यवसायीलाई डिजेल अभाव हुने देखिएको छ ।
भारतबाट मालसामान ल्याएर नेपालगन्ज आउने सानाठूला भारतीय नम्बरका सवारीले यहाँका पेट्रोल पम्पबाट फुल ट्यांकी तेल भरेर फर्कने गरेका छन् । भारतमा भन्दा नेपालमा डिजेल प्रतिलिटर १८ रुपैयाँ सस्तो भएका कारण यहाँ आउने प्रायस् सबै सवारीसाधनले तेल भरेरै फर्कने गरेका हुन् । भारतमा डिजेलको मूल्य प्रतिलिटर ६५ रुपैयाँ भारु (१०४ नेपाली रुपैयाँ) छ भने नेपालमा डिजेल प्रतिलिटर ८६ रुपैयाँ पर्छ ।
खुला सिमानाका कारण दैनिक ठूलो संख्यामा नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनले नेपालबाट फाइदा लिने गरेका हुन् । बाँकेको नेपालगन्जस्थित सीमावर्ती क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरीक्षक रवीन्द्र कठायतका अनुसार भारतको रुपैडिया नाका हुँदै नेपालगन्जमा दैनिक सरदर २३० वटा मालवाहक ट्रक तथा २२० वटा साना सवारी नेपालगन्ज भित्रन्छन् । ती सवारीले नेपालका पेट्रोल पम्पमा तेल भर्नु सामान्य देखिए पनि भारत फर्कंदा कति तेल लिएर फर्कन्छन् र त्यसले नेपाललाई कति धेरै नोक्सान भइरहेको छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
साना सवारीमा ५० लिटर क्षमताको ट्यांकी हुन्छ भने ठूला ट्रकमा ५ सय लिटर क्षमता हुन्छ । लरीहरुमा ५–५ सय लिटर क्षमताका २ वटासम्म ट्यांकी हुन्छन् । भारतबाट दैनिक खाद्यान्न, सिमेन्टको कच्चा पदार्थ, मेसिनरी उपकरण, मोटर पार्टसका सामान, घरेलु प्रयोजनका विभिन्न सामान बोकेर आउने सवारीसाधनलाई भाडाबापत भारतीय रुपैयाँ नै दिनुपर्छ । नेपालमा सहज रुपमा भारतीय रुपैयाँ पाउन गाह्रो छ । भारु साटेर दिनुभन्दा व्यापारीले भाडा बापतको रकमबाट कट्टा हुनेगरी भारतीय सवारीमा डिजेल भरिदिने गरेका छन् ।
यसका कारण नेपालमा डिजेलको माग बढ्दै गएको मध्यपश्चिम पेट्रोलियम डिजेल व्यवसायी संघ नेपालगन्जका अध्यक्ष टिपी न्यौपानेले बताए । प्रतिलिटर १८ रुपैयाँ सस्तो पर्ने भएपछि भारतीय सवारीका चालकहरु पनि नेपालमा फुल ट्यांकी तेल भर्न चाहन्छन् । भारतीय सवारीका चालक सोनु सिंहका अनुसार भारतमा भन्दा नेपालमा डिजेल प्रतिलिटर १० रुपैया भारु सस्तो भएकाले धेरैजसो चालकहरुले नेपालमै तेल भरेर फर्कने गरेका छन् । ‘मैले मात्रै एक सय लिटर तेल दिएर रोक्न सकिँदैन । अर्को पम्पमा गएर भरिहाल्छन्,’ एक पेट्रोल पम्पका सञ्चालक भन्छन्, ‘व्यावारीको चाहना धेरैभन्दा धेरै तेल बिकोस् भन्ने हुन्छ । त्यही भएर माग अनुसार तेल दिने गरेका छौं ।’
भारत फर्कने सवारीसाधनले दैनिक कति लिटर तेल भरेर फर्कन्छन् भन्ने यकिन तथ्यांक नभए पनि औसत ४० हजार लिटरसम्म तेल भारत निर्यात भइरहेको मध्यपश्चिम पेट्रोलियम डिजेल व्यवसायी संघ नेपालगन्जका अध्यक्ष टिपी न्यौपानेले बताए । ‘मूल्यमा अन्तर हुँदासम्म त्यसलाई रोक्न धेरै कठिन छ,’ अध्यक्ष न्यौपाने भन्छन्, ‘यस्तो समस्या देशभर नै छ । माथिल्लो तहबाटै नियन्त्रणको पहल नभएसम्म हामीले मात्र रोक्न सक्दैनौं ।’ नेपालमा सामान लिएर भारत फर्कने सवारीलाई गन्तव्य पुग्नका लागि एक सय लिटरसम्म मात्रै डिजेल दिन पम्प व्यवसायीहरुलाई आग्रह गरिएको उनले बताए । नेपालगन्ज डिपोले दैनिक ३ लाख लिटर डिजेल बिक्री गर्दै आएको छ । त्यसको करिब १० प्रतिशत डिजेल भारततर्फ जाने गरेको व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०९:५४