काठमाडौं । हिमालयन बैंकले तीन महिनामै ५१ करोड नाफा बढाएको छ । २०७४ पुस मसान्तमा १ अर्ब १० करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ५१ करोडले बढाएर १ अर्ब ६१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४६.३६ प्रतिशत नाफा बढाएको हो ।
हिमालयन बैंकले २०७३ चैत मसान्तमा १ अर्ब ५३ करोड नाफा कमाएको थियो भने २०७४ चैत मसान्तमा एक अर्ब ६१ करोड पुर्याएको हो । हिमालयनले ९६ अर्ब निक्षेप संकलन गरेर ८५ अर्ब कर्जा लगानी गरेको छ । बैंकले तीन महिनामा खुद ब्याज आम्दानी ४ अर्ब ५० करोडबाट बढाएर ६ अर्ब ८७ करोड पुर्याएको छ ।
तीन महिनामा बैंकको खराब कर्जा पनि १.३२ प्रतिशतबाट घटेर १.१९ प्रतिशतमा आइपुगेको छ । बैंकको आधार ब्याज दर ९.४२ प्रतिशत छ भने स्प्रेड दर ४ प्रतिशत रहेको छ । हिमालयन बैंकको प्रति सेयर आम्दानी २५.८१ रुपैंयाँ रहेको छ भने प्रतिशत १६३.६१ रुपैंयाँ रहेको छ ।
यस्तै नेपाल एसबीआई बैंकले ३ महिनामा नाफा ५१ प्रतिशत बढाएको छ ।चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ । चालु आवको पुसमा बैंकले ९१ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैंकले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा ०.१३ प्रतिशत मात्र छ । यस्तै निक्षेप लागत ५.२५, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२५, आधार ब्याजदर ९.९, कर्जा र निक्षेपबीच ब्याजदर अन्तर (स्प्रेडदर) ५.२४ छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा छ । बैंकले समीक्षा अवधिमा ६ अर्ब ४९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन घटेर ८३ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ । गत पुसमा बैंकको निक्षेप परिचालन ८५ अर्ब १६ करोड रुपैयाँ थियो । यस्तै बैंकले ७४ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत पुसमा ७१ अर्ब ३४ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ४ अर्ब १५ करोड ९० लाख रुपैयाँ छ ।
त्यसैगरी प्राइम कमर्सियसल बैंकको नाफा ४२ प्रतिशतले बढेको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १ अर्ब १५ करोड पुर्याएको हो । यो अवधीमा बैंकको नाफा ३७ करोडले बढेको छ । २०७३ पुस मसान्तमा बैंकको नाफा ७१ करोड थियो । पछिल्लो तीन महिनामा प्राइमले ५४ करोड नाफा बढाएको देखिन्छ ।
प्राइमले ५ अर्ब ५८ करोड ब्याज आम्दानी गरेर ४ अर्ब २९ करोड ब्याज खर्च गरेको छ । खुद ब्याज आम्दानी पुस मसान्तको तुलनामा १ अर्ब ४ करोडबाट बढेर १ अर्ब ७९ करोड पुगेको देखिन्छ । बैंकले ६ करोड ६७ लाख रुपैंयाँ नन अपरेटिङ इनकमबाट प्राप्त गरेको देखिन्छ । बैंकले ७६ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गरेको देखिन्छ ।
८ अर्ब ३ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६६ करोड रुपैंयाँ रहेको छ । १.०६ प्रतिशत खराब कर्जा रहेको बैंकले राइट ब्याकबाट १५ करोड प्राप्त गरेको छ । बैंकको आधार ब्याजदर ११.१० प्रतिशत छ भने स्प्रेड दर ४.२८ प्रतिशत रहेको छ । प्राइमको सिसिडी रेसियो ७७.६४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २०.८९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.१२ रुपैंयाँ रहेको छ ।
।