सूचनाको शक्ति - The Power Of Information

        

आगामी बर्ष ६६१ मेगावाट बिजुली थपिँदै, उत्पादन क्षमता १८०० मेगावाट


काठमाडौं । आउँदो वर्ष २०७५/०७६ मा एक दर्जन आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा ६६१ मेगावाट बिजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले तयार पारेको आगामी वर्षको विद्युत उत्पादन प्रक्षेपणले आउदो वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी सो परिमाणमा बिजुली थप हुने भएको हो ।
यो बिजुली थप भएपछि जडित क्षमता १ हजार ७७५ मेगावाट पुग्ने छ । यो क्षमता तापीय ऊर्जा बाहेकको हो । नेपाल विद्युत प्राधिकरणको ५३ मेगावाटको तापीय प्लाण्ट पनि रहेका छन् । आउदो वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न हुने भएपछि धेरै बिजुली थप हुने देखिएको हो । तामाकोसी सार्वजनिक निजी साझेदारीमा निर्माण भइरहेको छ ।
तामाकोसी २०७६ को बैशाखसम्म सम्पन्न हुनेछ । तामाकोसी बाहेक अन्य आयोजना निजी क्षेत्रको हुनेछ । जसअनुसार ४० मेगावाटको खानीखोला १, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपरदोर्दीखोला, २३.५ मेगावाटको सोलुखोला आयोजना सम्पन्न हुने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिएका छन् ।
यस्तै २२.२ मेगावाटको अपरचाकु खोला ए, २२ मेगावाटको बाग्मती साना आयोजना, १८ मेगावाटको माथिल्लो सोलु, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ६.४ मेगावाटको माथिल्लो मैलुङ १, ३.३ मेगावाटको खप्तडगाड र ३.२ मेगावाटको गेलुनखोला आयोजना सम्पन्न हुने उनले बताए । आउँदो असारसम्म २१ आयोजना सम्पन्न भई १९५ मेगावाट बिजुली थप हुने भएको छ । साउनयता १४ आयोजना सम्पन्न भई प्रणालीमा १०० मेगावाट बिजुली थप भइसकेको छ । आउदो असारसम्म थप ७ आयोजना सम्पन्न भई प्रणालीमा ९५ मेगावाट बिजुली थप हुनेछ ।

आउँदो वर्ष सम्पन्न हुने आयोजना
आउँदो असारसम्म सम्पन्न हुनेमा अरुण कावेली पावर लिमिटेडले निर्माण गरेको २५ मेगावाटको कावेली बी, माथिल्लो मोदी इनर्जीले निर्माण गरिरहेको २० मेगावाटको मोदी, अपी पावर कम्पनीको ८ मेगावाटको माथिल्लो नौगाड, माउन्टेन नेपाल हाइडोपावरको २१.६,तल्लो हेवाखोला, रैराग हाइडोपावरको ९.९ मेगावाटको इवाखोला, विन्धवासिनी हाइडोपावरको ८.८ मेगावाटको रुदीखोला र बराही हाइडोपावरको १.५ मेगावाटको थेउलेखोला आयोजना रहेका छन् ।
निजी क्षेत्रमार्फत हालसम्म विभिन्न ७३ आयोजनाबाट ५११ मेगावाट बिजुली उत्पादन भएको छ । सार्वजनिक र निजी क्षेत्रबाट गरी हालसम्म १ हजार १९ मेगावाट बिजुली उत्पादन भएको छ । असार अन्तिमसम्म जडित क्षमता १ हजार ११४ मेगावाट पुग्ने छ । हाल बिजुलीको माग १ हजार २५० मेगावाट छ । भारतबाट समेत गरी १ हजार ५० मेगावाट आपूर्ति भइरहेको छ । यसमध्ये भारतको हिस्सा ४५० मेगावाट छ ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०५:३०