सूचनाको शक्ति - The Power Of Information

        

लगानीकर्ताले विश्वास गुमाउँदा २७ अंकले बजार घट्यो

काठमाडौं । लगातार १० दिनदेखि उकालो लाग्दै आएको सेयर बजार सोमबार आएर घटेको छ । निरन्तर बढेपछि सोमबार करेक्सन भएपनि घट्न थालेपछि लगानीकर्ताले धमाधम बिक्री बढाउँदा यसको असर बजारमा परेको हो ।
सोमबारको बजार २७.६४ अंकले घटेको छ । बजार घटेर नेप्से परिसूचक १ हजार ४१० अंकमा झरेको छ । बजार घट्ने संकेत पाएपछि लगानीकर्ताले नाफा जोगाउन धमाधम सेयर बिक्रीका लागि ब्रोकरमा बुक गर्न थालेपछि यसको असर बजारमा परेको एक ब्रोकरले बताए । आइतबार ५० अंकले बढेर एैतिहासिक उछाल आएको सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ ।
बजारमा मागभन्दा बढी आपूर्ति भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । सोमबार परिसूचकमा गिरावट भएतापनि सेयर कारोबारमा भने सकारात्मक संकेत देखिएको छ । दोहोरो अंकले घटेको बजारमा पनि १७० कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् ।
सबैभन्दा बढी बीमा समूह ८८ अंकले घटेको छ । त्यस्तै, फाइनान्स र ट्रेडिङ समूह क्रमशः ९ र ५ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् । सोमबार नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ११:४६