काठमाडौं । विभिन्न वाणिज्य बैंकहरुले आफ्नो नाफालाई फराकिलो बनाउँदै लगेका छन् । वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंकहरुले नाफा बढेको जनाएका छन् । वित्तीय विवरणमा कर्जा प्रवाहसँगै नाफा बढेको देखिन्छ ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले ३ महिनामा खुदनाफा झण्डै ५० करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म १ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।
बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा गत आवको तुलनामा चालु आवमा नाफामा सामान्य गिरावाट आएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा १.२९, निक्षेप लागत ८.२२, पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७५.२९ आधार ब्याजदर ११.६८ र कर्जा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेडदर) प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले २ अबै ६५ करोड ६२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकले समीक्षा अवधिमा ३५ करोड ६१ लाख राइट ब्याक गरेको छ । गत चैतसम्म बैंकको निक्षेप परिचालन १ खर्ब २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी ८९ अर्ब ६ करोड ९० लाख रुपैयाँ छ । बैंकको संचित कोष बढेर ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
ज्योति विकास बैंक
चालु आर्थिक वर्षको ९ महिनामा ज्योति विकास बैंकको खुदनाफा बढेको छ । गत चैतसम्म बैंकले २२ करोड २४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १९ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन सन्तोषजनक रुपमा विस्तार भएको जानकारी दिएको छ ।
बैंकको निष्क्रिय कर्जा १.२७, निक्षेप लागत ९, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६.३०, आधार ब्याजदर १२.६५ र कर्जा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेडदर) ५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४३ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकले ५३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको संचित कोष बढेर ४२ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
सनराइज बैंक
सनराइज बैंकको नाफा ९ करोडले वृद्धि भएको छ । २०७३ चैत मसान्तमा ८५ करोड नाफा कमाएको बैंकले २०७४ चैत मसान्तसम्ममा ९४ करोड नाफा आर्जन गरेको हो । बैंकले ६५ अर्ब निक्षेप संकलन गरेर ५७ अर्ब कर्जा लगानी गरेको छ । ८ अर्ब १५ करोड पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ । बैंकले पछिल्लो तीन महिनामा २ अर्ब क्षिेप वृद्धि गरेको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४१ करोड छ भने ब्याज खर्च ३ अर्ब ४६ करोेड रहेको छ । सनराइज बैंकको खराब कर्जा १.४५ प्रतिशत छ भने आधार ब्याजदर ११.३४ प्रतिशत रहेको छ । बैंकको सीसीडी रेसियो ७७.९० प्रतिशत रहेको छ । बैंकले ४१ करोड प्रोभिजन गरेको छ भने राइट ब्याकबाट ४१ करोड रुपैंयाँ नै प्राप्त गरेको छ । बैंकको प्रति सेयर आम्दानी १५.५१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.११ रुपैंयाँ रहेको छ ।
गण्डकी विकास बैंक
गण्डकी विकास बैंकले ३ महिनामा खुदनाफा १४ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म नाफा बढाएर ३४ करोड रुपैयाँ पुर्याएको छ । गत पुसमा बैंकले २० करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको ९ महिनामा बैंकले २७ करोड ३१ लाख रुपैयाँ नाफा गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा कर्जा लगानी, निक्षेप परिचालन र नाफामा विस्तार भएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा ०.८४, निक्षेप लागत ९, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.३८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.३० र आधार ब्याजदर १२.३७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.६९ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकले ७० करोड ५३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत चैतसम्म बैंकको निक्षेप परिचालन बढेर २० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी बढेर १८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकको संचित कोष बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
।