काठमाडौं । गतवर्ष दुई खर्ब ९५ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । ०७३ सालमा एक खर्ब ५० अर्ब रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको थियो ।
तीनै तहको निर्वाचनसँगै राजनीतिक स्थिरता आउने अपेक्षासहित लगानी दोब्बर भएको हो । गतवर्ष सबैभन्दा धेरै उर्जा क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । गत वर्ष ३४ जलविद्युत आयोजनामा १ खर्ब ८२ अर्बको लगानी प्रतिवद्धता आएको छ ।
अघिल्लो वर्ष १७ जलविद्युत आयोजनामा ८५ अर्ब मात्रै लगानी प्रतिवद्धता आएको थियो । जलविद्युत क्षेत्रमा स्वदेशीसँगै विदेशी लगानी पनि आउन थालेपछि उर्जाक्षेत्रको लगानी दोब्बरले वृद्धि भएको हो ।
उत्पादन, निर्माण र खनिज उद्योगमा दोब्बर लगानी वृद्धि
गतवर्ष १३५ उद्योगमा ७ अर्ब ८४ करोड उत्पादनमूलक उद्योगमा लगानी आएको छ । गतवर्ष यो क्षत्रमा २ अर्ब ८४ करोड मात्रै लगानी आएको थियो । अघिल्लो वर्षको भन्दा पाँच अर्ब रुपैयाँले लगानी प्रतिवद्धता बढेको हो । निर्माण क्षेत्रमा गत वर्ष ५ अर्ब ४२ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।
अघिल्लो वर्ष एक अर्ब रुपैयाँको मात्रै लगानी प्रतिवद्धता आएको थियो । खनिज उद्योगमा पनि अघिल्लो वर्ष भन्दा २ अर्त्र रुपैयाँ लगानी बढी आएको छ । गतवर्ष २ अर्ब २३ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।
अघिल्लो वर्ष ७ करोड रुपैयाँ मात्रै लगानी प्रतिवद्धता आएको थियो । पर्यटन क्षेत्रमा ठूलो लगानी भित्रिएन ।गत वर्ष १५ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ ।अघिल्लो वर्ष १३ अर्ब ८६ करोड रुपैयाँ बराबरको लगानी पर्यटन क्षेत्रमा भित्रिएको थियो ।
कृषि र सेवा उद्योगमा ह्वात्तै घट्यो लगानी
गत वर्ष कृषि क्षेत्रका लागि निराशाजनक वर्ष रह्यो । गतवर्ष २१ उद्योगमा २ अर्ब ३५ करोड मात्रै लगानी भित्रिएको छ । अघिल्लो वर्ष कृषि तथा वनजन्य क्षेत्रमा ३ अर्ब ५० करोड लगानी भित्रिएको थियो ।
सेवा उद्योगको समेत हालत उस्तै छ । गतवर्ष सेवा क्षेत्रका १२५ उद्योगमा ७ अर्ब १५ करोड रुपैयाँ लगानी आएको छ । अघिल्लो वर्ष १६७ उद्योगमा १८ अर्ब ३५ करोड रुपैयाँ सेवा क्षेत्रमा लगानी आएको थियो । यो अघिल्लो वर्ष भन्दा १० अर्ब रुपैयाँले कम हो ।
यो वर्ष रोजगारी भने ६ हजारले बढी पाउने गरि लगानी आएको छ । गतवर्ष लगानी भित्रिएका उद्योगले २९ हजार ८६५ जनाले रोजगारी पाउने दाबी गरिएको छ । तर अघिल्लो वर्ष २३ हजार २०७ जनाले रोजगारी पाउने गरि उद्योग दर्ता भएका थिए ।
।