ललित बोहरा । डडेल्धुरा । अधिकांश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागिर खाने । पढेलेखेका व्यक्ति प्रायः जागिरका लागि भौंतारिइरहेका हुन्छन् । अझ भन्ने हो भने, गैरसरकारी संस्थामा जागिर गर्नेको त लहर चलेको छ ।
तर, केही व्यक्ति यस्ता पनि छन्, जो जागिर छोडेर आफ्नै व्यवसायमा रमाइरहेका हुन्छन् । त्यसको एउटा उदाहरण हुन्, कान्ति जोशी । उनी विगत ८ महिनादेखि डडेल्धुरा सदरमुकामको तुफानडाँडामा ब्युटी पार्लर व्यवसाय गर्दै आइरहेकी छन् । उनको घर बैतडीको सिगास गाउँपालिका–२ धौलाडीमा हो ।
उनी आजभोलि डडेल्धुराको अमरगढी नगरपालिका–४ मा बस्दै आएकी छिन् । उनीसँग एक दशक विभिन्न संघसंस्थामा काम गरेको अनुवभ छ । २०६२ देखि २०७३ सम्म उनले विभिन्न संघसंस्थामा काम गरिन् । ‘दुई वर्षजति नेपालगन्जमा काम गरें,’ उनले भनिन्, ‘बाँकी समय मैले बझाङमा काम गरेकी हुँ ।’
आफ्नो व्यवसायबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन् । दैनिक दुई हजारभन्दा बढी आम्दानी भइरहेको उनले बताइन् । घरखर्च कटाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी बचत गर्ने गरेको जोशीले सुनाइन् ।
‘महिनामा यति नै कमाइ हुन्छ भन्ने त छैन, तर पनि मैले मासिक २५ देखि ३० हजारसम्म बचत गर्ने गरेकी छु,’ उनले भनिन्, ‘घरायसी खर्च पनि यसैबाट चलाएकी छु । दुई जना बच्चाको स्कुल खर्च पनि यही व्यवसायले धानेकी छु ।’ श्रीमान्को हौसला र साथले आफूले ब्युटी पार्लर व्यवसाय सञ्चालन गरिरहेको उनले बताइन् ।
‘पहिले त मैले एनजिओ, आइएजिओमा काम गरें,’ जोशीले भनिन्, ‘पछि श्रीमान, परिवार सदस्य र साथीहरूले पनि आफ्नै व्यवसाय गर्ने मेरो योजनामा साथ दिनुभयो ।’ उनका श्रीमान् डडेल्धुराको अमरगढी नगरपालिका खलंगा वन कार्यालयमा रेन्जर पदमा कार्यरत छन् ।
जागिर र व्यवसायमा आकाश–जमिनको फरक
एनजिओको जागिर र व्यवसायमा आकाश–जमिनको फरक भएको कान्तिको अनुभव छ । ‘जागिर र व्यवसायमा धेरै फरक छ,’ उनले भनिन्, ‘जागिर गर्दा १५–२० हजारका लागि महिनौं कुर्नुपर्छ तर व्यवसाय गर्दा नियमित पौसा चलाउन पनि पाइन्छ र मासिक २५–३० हजार कमाइ पनि छ ।’
आफूलाई आजभोलि व्यापार गर्दै जाँदा जागिर टाइमपास जस्तो लाग्ने गरेको उनी बताउँछिन् । ब्युटी पार्लरका लागि सामानहरू धनगढी, काठमाडौं र भारतको राजधानी नयाँदिल्लीबाट ल्याउने गरेको कान्तिले जनाइन् ।
व्यवसाय गर्दाका चुनौती
व्यापार व्यवसाय गर्दा महिलाका लागि धेरै चुनौती रहेको उनको ठम्याइ छ । ‘महिलालाई बाहिर हिँड्न पनि समस्या हुन्छ । पुरुषले त्यसै पनि हेप्न खोजिरहेका हुन्छन्,’ उनले भनिन्, ‘आफू सक्षम, निडर र बाठो हुनुपर्छ, त्यति धेरै हेप्दैनन् । यद्यपि, सुदूरपश्चिमेली समाजमा महिलालाई व्यापार व्यवसाय गर्न अलि कठिन नै छ ।’
जागिरको पैसाले व्यवसाय
एनजिओको जागिरको पैसा र श्रीमान्को कमाइले आफूले व्यवसाय सुरु गरेको जोशीले बताइन् । कान्तिले भनिन्, ‘यो पसल गर्नुभन्दा पहिले म आफैं जागिर गर्थें । महिनाको २२–२५ हजार कमाउँथें । यो व्यवसाय सञ्चालन गर्न आफ्नो जागिरबाट पनि केही रकम जम्मा गरेको थिएँ र श्रीमान्बाट पनि केही पैसा लिएँ ।’
व्यापार सुर गरेपछि श्रीमान् पनि खुसी भएको बताउँदै उनले भनिन्, ‘घरपरिवार सँगै बसेर व्यवसाय गर्न पाउँदा उहाँ पनि खुसी हुनुन्छ । जागिरमा हुँदा बाहिरफेर हिँडिरहनुपथ्र्यो ।’ एसएलसी उत्तीर्ण गरेपछि कान्ति २०६२ सालमा पढाइको सिलसिलामा नेपालगन्ज पुगेकी थिएन् । उनले त्यहीँ ६ महिना ब्युटिसियन तालिम लिइन् ।
‘यो सीप सिक्ने अवसर मलाई मेरा दाजुभाउजू र आमाबुबाले दिनुभएको हो,’ उनले भनिन्, ‘सौन्दर्यले सबैलाई आकर्षित गर्छ । अहिले आएर महिला मात्र नभई पुरुष पनि पार्लर जान थालेका छन् । आर्थिक सहजतासँगै ब्युटी पार्लरमै गएर आफूलाई आवश्यक सेवा लिने महिला–पुरुषको शौखले पार्लर व्यवसाय राम्रै चलेको छ ।’
कम लगानी, छोटो तालिम, व्यवसाय सुरु गरेर राम्रै आम्दानी हुने भएपछि ब्युटी पर्लर व्यवसायप्रति धेरै महिलाकोे आकर्षण बढेको छ । यसले महिलामा उद्यमशीलता पनि बढाएको छ । यो व्यवसायलाई अझै विस्तार गरेर लैजाने योजना रहेको कान्तिले बताइन् ।
‘पारिवारिक साथ र सहयोग पाए यो व्यवसायलाई अझ विस्तार गर्ने सोच बनाएकी छु,’ उनले थपिन्, ‘व्यवसाय सुरु गरेदेखि आफ्नै पौरखमा बाँच्न सकिन्छ भन्ने आत्मविश्वास जागेको छ । घरपरिवार चलाउनका लागि सधैं श्रीमान्कै मुख ताकेर पनि बस्नुपर्दैन ।’
।