रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदन लगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेका हुन् ।
कम्प्युटर प्रयोग गर्न नआउँदा समस्या हुने भएपछि जनप्रतिनिधिले तालीमको आयोजना गरेर सिक्न थालेका हुन् । प्रविधिमा कमजोर भएपछि गाउँपालिकाले नै जनप्रतिनिधिलाई प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले तालीम सञ्चालन गरिएको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताए ।
तालीममा सहभागी १० वडाध्यक्ष, छ विषयगत समितिका संयोजक र गाउँपालिकाका उपाध्यक्ष गरी १७ जनाले माइक्रोसफ्ट अफिस, एक्सल, प्रिन्ट गर्ने विधिलगायत प्राविधिक शिक्षा पढिरहनुभएको छ । प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आधारभूत कम्प्युटर तालीमको आयोजना गरिएको अध्यक्ष केसीको भनाइ छ ।
गाउँपालिका तथा वडा कार्यालयबाट हुने सम्पूर्ण कामको अभिलेख कम्प्युटरमा राख्न लागेकाले जनप्रतिनिधिलाई कम्प्युटर सिकाउनुपरेको अध्यक्ष केसी बताउँछन् । तालीमपश्चात् वडा तथा विषयगत समितिबाट हुने काम कम्प्युटरबाट शुरु गरिने छ । वडा र विषयगत समितिलाई एक–एक सेट ल्यापटप तथा कम्प्युटरको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
।