सूचनाको शक्ति - The Power Of Information

        

आगामी सातादेखि एनालग टिभी बन्द, डिजिटल प्रविधि अनिवार्य

काठमाडौं । सरकारले वैशाख १५ गतेदेखि एनालग प्रविधिलाई प्रतिस्थापन गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वैशाखको दोस्रो हप्ताबाट मुलुकभर एनालग केबल टिभीलाई हटाउने निर्णय गरेको हो ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नयाँ वर्षको दोस्रो सातासम्म केबल टिभीलाई एनालगबाट डिजिटल टिभीमा रुपान्तरण गर्न अन्तिम मिति दिएको छ । मन्त्रालयले विशेष गरी शहरी क्षेत्रलाई लक्षित उक्त मिति तोकेको केबल टेलिभिजन समन्वय शाखाका इलेक्ट्रोनिक इन्जिनियर अनिल भुजेलले जानकारी दिए ।
नेपालमा भएका एनालग केबल टेलिभिजनलाई डिजिटलाइज्ड गर्ने कार्ययोजना तयार भइसकेको बताए । सरकारले दिएको उक्त अवधिसम्म काठमाडौं तथा अन्य शहरी क्षेत्रका उपभोक्ताले डिजिटल प्रविधि जडान अनिवार्य गर्नुपर्ने छ । देशैभर पूर्णरुपमा डिजिटल टिभीमा लैजाने तयारी सरकारले गरेको हो । वैशाख १५ गतेबाट नेपालका प्रमुख शहरहरू काठमाडौं, पोखरा, इटहरी, बुटवल, नेपालगन्ज लगायत मुख्य शहरी क्षेत्रमा डिजिटल टीभी प्रसारण सफलता सञ्चालनमा आउनेमा मन्त्रालयको विश्वास छ ।
मन्त्रालयले कार्तिक २६ गतेबाट शहरी क्षेत्रमा सो केवल टिभीलाई प्रतिस्थापन गर्ने भने तापनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । २०७४ वैशाख १५ मा बसेको बैठकले कात्तिक १५ देखि महानगर, उपमहानगर र नगरपालिकामा एनालग सिस्टम बन्द गरी डिजिटल प्रविधिमा लैजाने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन नभएपछि सरकारले मिति परिवर्तन गर्दै कात्तिक २८ समय दिएको थियो ।
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटीयू)ले एनालग प्रविधिलाई विस्थापित गर्दै डिजिटलमा जान आफ्ना सदस्य राष्ट्रहरुलाई निर्देशन दिएकोमा नेपाल पनि सदस्य राष्ट्र भएकाले निर्णय कार्यान्वयन गर्न लागेको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । मन्त्रालयका अनुसार हाल डिजिटल प्रविधिमा आधारित ११ वटा डिजिटल टिभीहरुले लाइसेन्स लिइसकेका छन् ।
पुराना एनालग केवल टिभीले पनि डिजिटल टीभीमा रुपान्तरित भएर सेवा दिनसक्ने प्रवक्ता ढकालको भनाइ छ । नेपालका ग्रामीण क्षेत्रमा भने डिस होमले आफ्नो प्रभुत्व जमाइसकेको छ । हाल नेपालमा डिस होमका १० लाखभन्दा बढी सेवाग्राही रहेका छन् । त्यस्तै डिजिटल टेस्ट्रियल ब्रोडकास्टिङ अन्तर्गत चार वटा कम्पनीले इजाजतपत्र पाएको मन्त्रालयको तथ्यांङमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार ०८:५६