मुगुको राराताल किनारमा डाँफे होटलले टाँगेका टेन्ट ।
राराताल (मुगु) । राजनीतिक शक्तिको आड र रारा राष्ट्रिय निकुञ्जका कर्मचारीसँगको मिलेमतोमा रारातालमा होटल व्यवसायीले ‘ब्रह्मलुट’ मच्चाएका छन् । ताल किनारमा दलका नेताले निकुञ्जलाई कौडीको मूल्य भाडा तिरेर दुई होटल सञ्चालन गर्दै आएका छन् ।
नेपाली सेनाको रासनपानी ठेक्का लिँदै आएका एमाले नेता गोपालबहादुर बमले दुई दशकदेखि ‘डाँफे होटल’ चलाएका छन् भने माओवादी केन्द्रका नेता राजु कार्कीले तीन वर्ष अघिदेखि ‘भिलेज हेरिटेज एन्ड रिसोर्ट’ । राजनीतिक पहुँचकै कारण उनीहरूले सस्तोमा निकुञ्जको जमिन र भवन भाडामा मिलाएर होटल चलाएको देखिन्छ । बम मुगुबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत हुन् ।
बमले चलाएको २०० जना क्षमताको होटलले निकुञ्जलाई मासिक २७ सय रुपैयाँ तथा कार्कीले चलाएको १५० जना क्षमताको रिसोर्टले निकुञ्जलाई मासिक ५ हजार मात्र भाडा तिर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) चन्द्रशेखर चौधरी भन्छन्, ‘होटलवालले निकुञ्जलाई तिर्ने भाडा धेरै सस्तो छ । मेरो कार्यकालभन्दा अगाडिका हाकिमका पालामा होटलवालाहरूसँग सम्झौता भएको रहेछ ।’
चौधरीका अनुसार उनीहरुसँगकोे सम्झौता अवधि केहीवर्ष बाँकी भएकाले मात्रै निकुञ्जले तिनलाई हटाउन नसकेको हो । निकुञ्जभित्र होटल नै चलाउनु नहुने पक्षमा आफू रहेको उनले सुनाए । ‘होटल त निकुञ्जको मध्यवर्ती क्षेत्रमा पो बनाउनु पर्छ,’ उनले भने । सिजनमा दिनमै सयौं पर्यटकले दुवै होटल खचाखच हुन्छन् । होटलका सामान्य कोठामा एकरात बसेको १२ सय रुपैयाँ तिर्नुपर्छ भने अट्याच बाथरुमसहितका कोठाको १५ सय रुपैयाँ । त्यस्तै सादा खानाको २५० देखि ३०० रुपैयाँसम्म तिर्नुपर्छ ।
सामान्य कटेरोमा चमेना गृहका रुपमा सुरु गरिएको ‘डाँफे होटल’मा अहिले १४ कोठा छन् । त्यहाँको आँगनमा टाँगिएका टेन्टमा समेत गरेर एकैरात २ सय जनासम्म अटाउने होटलका कर्मचारी बलिराज शाही बताउँछन् । त्यसैगरी ‘भिलेज हेरिटेज एण्ड रिसोर्ट’मा १३ कोठा छन् । त्यहाँ टेन्टमा सहित १५० जना बास बस्न सक्ने होटल सञ्चालक कार्कीले बताए ।
कटेरालाई बिस्तार गरेर डाँफे होटलले आफैं काठका ठूल–ठूला भवन बनाएको छ । कार्कीले चाहिँ निकुञ्जले कर्मचारीका लागि भनेर बनाएको दुई तले भवनमै होटल चलाएका हुन् । डाँफे होटलका कर्मचारी शाहीका अनुसार निकुञ्जसँग उनीहरुको सम्झौता ०७८ सालसम्म छ । हेरिटेज एण्ड रिसोर्टका सञ्चालक कार्कीले भने १५ वर्षका लागि सम्झौता भएको दाबी गरे । सम्झौताको एक एक प्रति निकुञ्ज र होटलवालाले राख्ने चलन छ । तर, आगलागीमा परी निकुञ्जमा राखिएको सम्झौताको प्रति खरानी भएको त्यहाँका एक कर्मचारीले जानकारी दिए ।
बाँकी सम्झौता अवधिका लागि भाडा बढाउन नसकिने निकुञ्जले जनाएको छ । ‘हामी आफैं भाडा बढाउन सक्दैनौं,’ वार्डेन चौधरी भन्छन्, ‘राष्ट्रिय निकुञ्ज विभाग र वन मन्त्रालयले पत्र लेख्यो भने मात्रै बढाउन सक्छौं ।’ रारा किनारका दुवै होटल सामान्य खालका हुन् । पर्यटक त्यहाँ दुखसुख बस्छन् किनकि सबैलाई त्यही बास पनि नपाइएला भन्ने डर हुन्छ । दिनदिनै आन्तरिक पर्यटक बढ्दै जाँदा होटलले धान्नै नसक्ने अवस्था छ ।
निकुञ्ज क्षेत्रमा होटल खोल्न बनाइएको कार्यविधि सरकारले स्वीकृत गरी नसकेकाले समस्या भएको वार्डेन चौधरी बताउँछन् । राराको पर्यटन विकास गर्न सरकारले तुरुन्तै वातावरणमैत्री व्यवस्थित होटल खोल्ने वातावरण मिलाउनुपर्ने देखिन्छ । कालीकोटबाट मुगु सदरमुकाम गमगढीसम्म सडक सञ्जाल जोडिएपछि रारामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । हिमाली राष्ट्रिय निकुञ्जमा नेपालीले प्रवेश शुल्क तिर्नु नपर्ने भएकाले बर्सेनी कति नेपाली रारा घुम्छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन ।
निकुञ्ज प्रवेशद्वारमा नेपाली पर्यटकको रेकर्ड राख्न सके पर्यटन विकास योजना बनाउन सजिलो हुनेछ । रारा घुम्ने विदेशीको भने रेकर्ड राखिन्छ । निकुञ्जसँग आर्थिक वर्ष ०७३–०७४ मा जम्मा २२२ जना विदेशी रारा घुमेको तथ्यांक छ । अहिले निकुञ्जका प्रवेशद्वार माझघट्टमा ६, सल्लेरीमा ४ र लामाचौरमा ३ ससाना होटल छन् । माझघट्टबाट आधा घन्टामा रारा किनार पुगिन्छ भने अन्यत्रबाट डेढ दुई घन्टामा । रारा क्षेत्रका सबै होटलवालालाई सरसफाई, अतिथि सत्कार र खाना पकाउने तालिम दिनु जरुरी देखिन्छ । साथै जुम्ला–रारा पदमार्ग र राराताल क्षेत्रमा सूचना बोर्ड र संकेत चिह्नसमेत चाहिन्छ । –नागरिकन्यूजबाट
।