सूचनाको शक्ति - The Power Of Information

        

सिन्डिकेट तोडिएपछि उत्साहित बने यातायात व्यवसायी


काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेट तोडिएपछि धमाधम नयाँ कम्पनीले नयाँ बस थप्न लागेका छन् । विभिन्न कम्पनीले सिन्डिकेट अन्त्यको फाइदा उठाउदैं नयाँ बस थप्न लागेका हुन् । लामो सघर्षपछि सञ्चालनमा आएका साझा, मयुर यातायातले थप उत्साही हुँदै बसहरु थप्न लागेका छन् ।
साझाले २४ नयाँ ठुला बस थप्ने तयारी गरेको छ । साझा यातायातका कर्मचारी महेन्द्र पाण्डेका अनुसार २ महिनाभित्र ४ वटा ठुला बस र ६ महिनामा २० वटा सिटी बस थप्ने बताए । यस्तै दिगो शहरी यातायातले १५ दिन भित्रमा १७ ठुला बस काठमाडौंमा ल्याउने तयारी गरेको छ । यातायात प्रमुख लालप्रसाद गुरागाँईका अनुसार बस युरो ४ मापदण्डको हुनेछ ।
बस सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ । बस पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।
यस्तै सूर्योदय यातायातले अशोक लेलैण्डका १५ थान नयाँ मोडेलका यात्रुवहाक वस पूर्वाञ्चलमा सञ्चालनमा ल्याएको छ । बसमा डिजिटल डिस्पले, टिभी, वाईफाई, जिपिएस, सीसी क्यामेरा लगायत अत्याधुनिक उपकरणहरु जडान गरिएको छ । कम्पनीका अनुसार गाडीमा विभिन्न किसिमका लाइफटाइम इन्जिन जडान गरिएको छ ।
कम्पनीले पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने बताएको छ । संस्थाका अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले गाडीहरुमा फिल्टर र मोबिल खर्चबाहेक अन्य खर्च नआउने दाबी गरे । संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी गाडी विस्तार गर्दै यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित गराउने जानकारी दिए ।
सरकारले यातायात सिण्डिकेट खारेजको घोषणा गरेपछि निजी क्षेत्रबाट संगठित रुपमा ठुला बस सञ्चालनमा आउन थालेका हुन् । सिद्धबाबा यातायात प्राइभेट लिमिटेडले केहि दिनभित्रै २० वटा बसञ्चालनमा ल्याउने जनाएको छ । मयुर यातायातका प्रमुख मोहन श्रेष्ठका अनुुसार २३ वटै बस सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
यसैगरी नयाँ बस सञ्चालनमा ल्याउनेहरुमा सिला सालिग्राम यातायात, सप्तरंगी प्राली, टेकु सवारी परिक्षकले ११ वटा बस थपेका छन् । यस्तै इन्द्रेणी यातायातले २ वटा र अन्य कम्पनीहरुले पनि नयाँ बस सञ्चालन ल्याउने तायारी गरेको यातायात विभागका सूचना अधिकृत तुलसीराम अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार ०४:२२