सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक हिनामिना भएको भन्दै खानेपानी कार्यालयमा तालाबन्दी

देवी भण्डारी । दाङ्ग । हापुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयमा आज उपभोक्ताहरुले ताला लगाएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभामा पेस भएको आर्थिक तथा लेखा परिक्षकको प्रतिबेदन प्रति असन्तुष्ट जनाउदै आज बबई गाउँपालिका वडा नं ४ र ५ का उपभोक्ताहरुले ताला लगाएको कार्यालय सचिव सुन्दरी केसीले बताइन् ।
साथै कार्यालय सचिव केसीले बार्षिकरुपमा बस्नुपर्ने साधारणसभा २ वर्षपछि मात्र बसेको र आर्थिक मामिलामा कार्यालयको कमजोरी रहेको बताइन् । हापुरे खानेपानी तथा सरसफाई उपभोक्ता कार्यालयमा आर्थिक हिनामिना भएको भन्दै उपभोक्ताहरुले पुनः हिसाब मिलानका साथै छानविन समिति गठनको माग गर्दै ६ सदस्यीय संघर्ष समिति पनि गठन गरेका छन् ।
त्यस्तै आज नै गठित संर्घष समितिले छानविन समिति गठन गरेर आर्थिक पारदर्शी नहुँदासम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक चिम्से विश्वकर्माले जानकारी दिए । यता हापुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर खड्काले उपभोक्तामाझ पुनः छलफल गरि आर्थिक पारर्दशिता ल्याउने बताए । उनले भोलि नै छानविन समिति गठन गरेर समस्याको टुङगो लगाउने बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार १०:२५