कर्णाली रारा पर्यटन वर्ष : ताल्चामा एयरलाइन्सहरुको सिन्डिकेट, मन्त्रीहरुको व्यवहारले आजित बने पर्यटक
।
यही बैशाख १ गते कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा वली लगायत मन्त्री, सांसद तथा विभिन्न राजनीतिक दलका नेताहरु ।
यही बैशाख १ गते कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा वली लगायत मन्त्री, सांसद तथा विभिन्न राजनीतिक दलका नेताहरु ।
ताल्चा (मुगु) । कर्णाली प्रदेश (साविकको कर्णाली अञ्चल)मा पर्ने मुगु जिल्लामा रहेको ताल्चा विमानस्थल नेपालकै दोस्रो जोखिमपूर्ण मध्येमा पर्छ । समुद्र सतहदेखि २ हजार ७३५ फिट (८३४ मी) उचाइमा रहेको यो विमानस्थल रारा ताल घुम्नका लागि आवजजावत गर्ने पर्यटकहरुको महत्वपूर्ण प्रवेशद्वार पनि हो ।
पर्यटकको आवागमनमा वृद्धि भइरहँदा कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष २०७५ को सुरुवात रारा ताल छेउबाटै गरेको छ । यो समग्र पर्यटन उद्योगका लागि खुशीको विषय पनि हो । तर प्रदेश सरकारका मन्त्रीहरुको व्यवहारले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका क्रममा रारा पुगेका जो कोहीलाई आजित बनायो ।
तयारी करिब शुन्य जस्तै थियो । पर्यटन वर्ष भनेर प्रदेश सरकारले लाखौं रकम खर्चियो । रारा पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रदेश सरकारका मन्त्रीहरुले दुव्र्यवहार समेत गरेको पाइयो । प्रदेश सरकारका पर्यटन मन्त्रीको व्यवहार निकै तुच्छपूर्ण रह्यो । ‘तिमीहरुलाई यहाँ कसले बोलाएको ?’ काठमाडौंबाट रारा पुगेका पर्यटकमाथि पर्यटन मन्त्रीले यही प्रश्न गरे ।
कर्णाली रारा पर्यटन वर्षको सुरुवात गरिरहँदा पर्यटन मन्त्रीको यो अभिव्यक्तिले सायद लाग्छ उनैलाई थाहा छैन आफ्नो पद र पदीय मर्यादा । एकजना विदेशी पर्यटकले त प्रदेश सरकारका मन्त्रीहरुको व्यवहारबाट आजित हुँदै ‘कुकुरजस्ता मन्त्री’ सम्म भने । यो पर्यटन वर्ष सुरुवातीको गतिलो सन्देश हुँदै होइन ।
ताल्चा विमानस्थलमा तीन दिनदेखि अलपत्र परेका ती विदेशी नागरिकले आफ्नो देशमा के सन्देश लिएर जालान् ? यो प्रश्नको उत्तर कर्णाली प्रदेश सरकारसँग छ या छैन ? दुई दिनसम्म रारा ताल वरिपरि प्रधानमन्त्री लगायत केन्द्रीय सरकारका मन्त्रीहरु चढेका नेपाली सेनाका दुई वटा हेलिकप्टर खुबै घुमे । प्रधानमन्त्रीले पर्यटन वर्षको उद्घाटन गरेपछि ती हेलिकप्टर त्यहाँका आकाशमा देखिएनन् ।
दिउँसोपख हावाका कारण ताल्चा विमानस्थलमा विमान अवतरण गर्न मुस्किलै पर्छ । आआफ्नो गन्तव्यमा पुग्नका लागि ताल्चा विमानस्थल आसपासका होटलहरुमा पर्यटकहरु भरिएका थिए । प्रदेश सरकारका मन्त्री र उनका नातागोताले होटलहरुमा बास पाउनै मुस्किल थियो । पर्यटकहरुलाई आआफ्नो गन्तव्यमा पुग्नका लागि हवाई टिकटको खोजी गर्थे तर टिकट किन्न निकै मुस्किल थियो ।
किनकि, प्रदेश सरकारका मन्त्री र सांसदहरु विमान चार्टर गरेर आफ्ना श्रीमती, छोराछोरी, नातीनातिनादेखि नातेदारहरुलाई ओसार्नमै व्यस्त भए । पर्यटकहरुलाई टिकट पाउनु सपनाजस्तै थियो । मन्त्री र सांसदहरुका नातागोताहरु त्यहाँ भएसम्म अरुलाई टिकट पाउनु निकै मुस्किल थियो । एयरलाइन्सका एजेन्टहरुले पनि आफ्ना नातागोता र पहुँच भएका व्यक्तिहरुलाई मात्रै टिकट दिन्थे ।
यतिसम्मकी घरघरमा गएर टिकट बाँडिन्थ्यो, तर ताल्चामा चिनजान बिनाको व्यक्तिले टिकट पाउनु देउता भेट्टाएजस्तै हुन्थ्यो । ताल्चामा हवाई सिन्डिकेट नै रहेछ । टिकट पाउन नेता, मन्त्री र सांसद पहुँच चाहिने, एयरलाइन्सका एजेन्टहरुको आफ्नो मान्छे हुनुपर्ने, उनीहरुले सञ्चालन गरेका होटलमा बास बसिदिनुपर्ने लगायत यस्तै यस्तै मापदण्डहरु पुरा भएको व्यक्तिले मात्रै हो टिकट पाउने ।
नेता, मन्त्री र सांसदहरुको व्यवहार त छँदै थियो, एयरलाइन्सका एजेन्टहरुको व्यवहार त झन् के कम ? नेपाल एयरलाइन्स, तारा एयर, मकालु एयर, गोमा एयर, सीता एयरका चार्टर फ्लाइट हुने ताल्चा विमानस्थलमा नेपाल प्रहरीको उस्तै रवैया । एयरलाइन्सका एजेन्टहरुको व्यवहारले सायद कुनै पनि पर्यटकको मन खुशी हुँदैन होला । एयरलाइन्सका एजेन्टहरुको तुच्छ व्यवहारले जो कोहीलाई पनि आजित बनाउँछ ।
ताल्चा विमानस्थलमा एयरलाइन्स र यात्रुहरुबीच भएको विवाद
उनीहरु आफुलाई दुनियाँकै अब्बल हो भन्ने भानमा अरुलाई पशुवत व्यवहार गर्न पछि पर्दैनन् । नेता, मन्त्री, सांसद र एयरलाइन्सका एजेन्टहरुको यो तुच्छ र पशुवत व्यवहारले एक पटक रारा पुगेको पर्यटक फेरि फर्किन सायद गाह्रो नै हुन्छ । यहाँ कर्णाली प्रदेश सरकारले पर्यटन वर्ष मनाइरहँदा पर्यटकमैत्री व्यवहारलाई बुझ्नै सकेको छैन । त्यही सरकारका मन्त्रीहरुको पशुवत व्यवहार, एयरलाइन्सका एजेन्टहरुको दादागिरी लगायतका कारण पनि पर्यटन वर्ष सफल हुनेमा शंका गर्न सकिने आधारहरु छन् ।
‘प्रदेश सरकार पर्यटकमैत्री नै छैन,’ काठमाडौंबाट रारा पुगेकी निरु ढकाल भन्छिन्, ‘हामीलाई त कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका स्वकीय सचिव, श्रीमती र पर्यटन मन्त्रीले पशुसरह व्यवहार गरे । मुख्यमन्त्रीकी श्रीमतीले त मुख नै च्यातिदिन्छु भन्दै असभ्य व्यवहार देखाइन् ।’ पर्यटन वर्षको उद्घाटनकै क्रममा त्यहाँ पुगेकी ढकाल प्रदेश सरकारका मन्त्री, सांसद र नेताहरुको व्यवहारका कारण अर्को पटक रारा घुम्नका लागि सोच्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘मन्त्री, सांसद र नेताहरुको त के कुरा, एयरलाइन्सका एजेन्टहरुको दादागिरी, तुच्छ व्यवहारले एकपटक रारा पुगेको पर्यटक पुनः फर्किदैन होला ?’ कर्णाली रारा पर्यटन वर्षमा करिब ५ लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ । तर पर्यटकमैत्री प्रदेश सरकार देखिएन । पर्यटकलाई रारा पुग्न नै समस्या छ । त्यसमा पनि मन्त्रीहरुकै असभ्य व्यवहारले पर्यटकलाई खिन्न बनाएको छ । कर्णाली रारा पर्यटन वर्ष उद्घाटनकै दिन रारा पुगेकी काठमाडौंकी मन्दिरा पोख्रेललाई प्रदेश सरकारले गरेको व्यवहार उस्तै खिन्न लाग्यो ।
‘पर्यटकले नै आफूलाई असुरक्षित महशुस गर्छ । प्रदेश सरकारका मन्त्रीहरुको व्यवहार नै असुरक्षित महसुस गर्ने खालको छ । अनि पर्यटन वर्ष भनेर ढ्वाङ्ग फुकेर मात्रै हुन्छ ?’ उनी भन्छिन्, ‘न सुरक्षित बसाई छ, न त पर्यटकमैत्री न संस्कार छ, कसरी आउनु रारा ? प्रदेश सरकारका मन्त्रीहरुबाटै आफू असुरक्षित भएको महसुस गर्नुपर्छ । अनि प्रदेश सरकारले पर्यटन वर्ष भनेर ढ्वाङ्ग मात्रै फुकेर हुँदैन । पर्यटकलाई सुरक्षित महसुुस गराउनुपर्छ ।’
पोख्रेलका अनुसार रारा अन्यन्तै सुन्दर पर्यटकीय गन्तव्य हो । तर प्रदेश सरकार नै पर्यटनमैत्री छैन । कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दबहादुर बुढालाई पर्यटकहरुको व्यवस्थापनका विषयमा सत्यपाटीले चासो राख्दा धेरै गीत नगाउन भन्दै असभ्य भएर प्रस्तुत भए । उनले भने, ‘हामीले पर्यटकलाई बोलाएको हो र ? आफै आए, आफै फर्किन्छन्, हामीलाई के को मतलव ?’
पर्यटकको व्यवस्थापनका विषयमा त प्रदेश सरकारले सोच्नुपर्ने होइन र भन्ने प्रश्नमा पर्यटन मन्त्री बुढाले ‘तपाई धेरै गीत नगाउनुस्, जे मन लाग्छ त्यसै गर्नुस्, पर्यटकको ठेक्का हाम्रो होइन’ भन्दै असभ्यरुपमा प्रस्तुत भए । सामाजिक विकास मन्त्री दल रावलले भने यस विषयमा आफूहरु संवेदनशील रहेको बताए । उनले भने, ‘हामी निकै संवेदनशील भएका छौं । मैले क्याविनेटमा यस विषयमा छलफल गर्छु ।’ कर्णाली प्रदेशका सांसद सुशील थापाले सरकारले सांसदहरुको समेत सुझाव नलिएरै मनोमानीरुपमा अघि बढेकाले यस विषयमा संसदमा कुरा उठाउने बताए ।
अर्का सांसद पद्मा खड्काले भनिन्, ‘गुनासाहरु धेरै आएका छन्, सांसदहरुले दिएका सुझाव समेत सरकारले ग्रहण गर्न नसक्दा यो समस्या भएको हो । यस विषयमा संसदमा कुरा हुन्छ ।’ पर्यटन वर्षलाई भव्य र सभ्य बनाउन उद्घाटन गरेर मात्र नहुने भन्दै सांसद खड्काले पर्यटकहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले जिम्मेवार भएर सोच्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘सरकारका मन्त्रीहरु पर्यटकको व्यवस्थापनमा भन्दा आफ्नो स्वार्थका पछि लाग्दा गुनासाहरु आएका हुन् । मन्त्रीहरु नै पर्यटनमैत्री हुनुभएन जसका कारण रारा पुगेका पर्यटकहरुले दुख पाउनुभएको छ । यस विषयमा हामी संसदमा कुरा गर्छौ ।’ प्रदेश सरकारका मन्त्रीहरुकै कारण ताल्चा विमानस्थलमा पर्यटकहरुले निकै समस्या झेल्नुपरेको बताए । प्रदेश सरकारका मन्त्रीहरुले पर्यटनमैत्री प्रदेश बनाउनका लागि गरेको निर्णयलाई सार्थक बनाउने हो भने आफूहरु पनि पर्यटनमैत्री बन्न जरुरी छ ।
।