सूचनाको शक्ति - The Power Of Information

        

वृद्धभत्ता र कर्मचारीको पेन्सन घटाउन विश्व बैंकको सुझाव

काठमाडौं । विकास साझेदार विश्व बैंकले नयाँ संघीय प्रणालीले आगामी दिनमा थप वित्तीय दायित्व सिर्जना भई खर्चको दवाव बढ्ने भन्दै खर्च कटौती गर्न सरकारलाई सुझाएको छ । बैंकले बुधबार नेपाल विकास परिदृष्य सार्वजनिक गर्दै खर्च व्यवस्थापन नगरे समस्या आउनेतर्फ सचेत गराउदै खर्च कटौती नै अहिलेको समधान भएको उल्लेख गरेको छ ।
दायित्व बढ्दै गएर बजेट घाटा कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ५.९ प्रतिशत पुगेको बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बैंकले खर्च व्यवस्थापन गर्न अनावश्यक खर्च कटौती, पेन्सन प्रणालीमा सुधार र सामाजिक सुरक्षा खर्च व्यवस्थापन गर्न सुझाएको छ । पेन्सन र सामाजिक सुरक्षा खर्च वर्षेनी बढ्दै गएर थप दायित्व सिर्जना गरेको उल्लेख गर्दै यसलाई व्यवस्थापन गर्न सुझाएको हो ।
यी ३ कुरामा सरकारले सुधार गरे आगामी दिनमा देशको अर्थतन्त्र सही दिशामा जाने विश्व बैंकको ठहर रहेको छ । अवकासपछि कर्मचारीलाई वितरण हुने पेन्सनले थप दायित्व सिर्जन गरेको बताउदै यसलाई पुनसंरचना गर्न बैंकले सुझाएको हो । बैंकले एक दशकअघि कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ०.५ प्रतिशत अंश रहेको पेन्सन अहिले बढेर १.५ प्रतिशत पुगेको भन्दै यसलाइै व्यवस्थापन गर्न सुझाएको हो ।
बैंकका वरिष्ठ अर्थशास्त्री ड्यामिर कसिकले पछिल्ला ३ वर्षयताका वजेट वास्तविक धरातलबाट बाहिर गएर तर्जुमा गरिएको बताउदै यसले गर्दा वित्तीय क्षेत्रमा केही संकट आएको जानकारी दिए । यसले बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर र ब्याजदर बढाउन सहयोग पुर्याएको उनको ठहर छ । बैंकको ब्याजदरले उत्पादन लागत बढाएको बताउदै यसले पनि अर्थतन्त्रमा केही असर गरेको उनले बताए । पछिल्लो समयमा सेयर, गाडी र रियलस्टेट कर्जा खुम्चिएको ठहर गरेको छ । बैंकले आगामी दिनमा नेपालले वृहत संक्रमणकालिन योजना बनाएर लागु गर्नुपर्ने सुझाएको छ ।
यस्तै यो योजना भरपर्दौ र विश्वसनिय हुनुपर्ने र नयाँ संक्रमणकालिन योजना सफलतापुर्वक लागु गर्नुपर्ने बताएको छ । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा कमी, आयातमा वृद्धिले गर्दा समग्र शोधानान्तर घटामा गएको बैंकको ठहर छ । बैंकका अर्का अर्थशास्त्री सुदम्यन दाहालले यो वर्ष नेपालको आर्थिक वृद्धिदर खुम्चिएर ४.६, आगामी वर्ष ४.५ र अर्को वर्ष ४.२ प्रतिशत हुने प्रक्षेपण गरेको जानकारी दिए । वाढी र डुवानले कृषि उत्पादनमा गिरावट आउदा आर्थिक वृद्धिदर घटेको उनको सुझाव छ । आगामी केही वर्ष नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत तल हुने बैंकको प्रक्षेपण छ ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार ०४:३६