सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देही डेंगुको उच्च जोखिममा, ९४७ जना संक्रमित, दुईको मृत्यु


रेनुका गिरी । रुपन्देही । रुपन्देही जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । रुपन्देहीमा ९४७ जनामा डेंगुको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यो तथ्याङक नेपालभरीका अन्य जिल्लाहरुको भन्दा बढी हो ।
संक्रमितमध्ये रुपन्देहीमा दुई जनाको ज्यान गएको छ । गतवर्ष पनि दुई जनाको ज्यान गएको थियो । यसवर्ष चैतसम्म जिल्लामा २८० जना बढी डेंगु संक्रमीत विरामी फेला परेकोे जनस्वास्थ्य कार्यालय रुपन्देहीका तथ्याङ्क अधिकृत ओमप्रकाश गुप्ताले जानकारी दिए ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसवर्ष सवैभन्दा बढी रुपन्देही, त्यसपछि महोत्तरी र तेस्रोमा झापा जिल्लामा डेंगु संक्रमण दर उच्च रहेको तथ्याङ देखाएको छ । एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि देखिन सक्छ ।
डेंगु संक्रमण हुँदा असाध्यै ज्वरो आउने, टाउको र आँखाको गेडी तथा आँखाको पछिल्लो भाग एवं ढाड, हातजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, नाक तथा गिजाबाट रगत आउनेलगायत लक्षण दखा पर्ने चिकित्सकको भनाई छ ।
नेपालमा विसं २०६१ मा पहिलो पटक चितवनमा विदेशी पर्यटकबाट नेपाल भित्रिएको डेंगुको संक्रमण फैलिदो क्रममा भेटिएको छ । तराई तथा भित्री मधेशका जिल्लामा डेंगुका बिरामी वर्षेनी बढ्दै छन् । विसं २०६७/०६८ मा चितवन, रुपन्देही, नवलपरासीलगायत जिल्लामा डेंगु फैलिएर महामारीको रुप लिएको थियो ।
डेंगु नियन्त्रणको उपाय भनेको नियमित सरसफाइ, गमला, फूलदानी, टायर, पानीट्यांकी, फ्रिज लगायतमा जमेको सफा पानीमा लामखुट्टेले फुल पार्ने हुदा संधैं पानी जम्न नदिने र नियमित सफा गर्नुपर्दछ । बढ्दो लामखुट्टे र भुसुनाको प्रकोपका कारण रुपन्देहीवासीको जनजीवन कष्टकर बनेको छ । गर्मी सुरुभएसंगै स्वास्थ्य चौंकी एवं अस्पतालहरुमा पानीजन्य र लामखुट्टेले टोकेका विरामीहरुको चाप बढेको छ ।
परजीवि लामखुटेको प्रकोपका कारण जिल्लामा औलो, कालाजार, जापानिज ईन्सेफलाईटिस, डेगु, हात्ती पाईले, म्यानेन्जाईटिसका विरामीहरुको संख्यामा वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले अहिले लामखुट्टे विरुद्ध विषादी छर्किने कार्यक्रम नभएको तर लामखुट्टेबाट बच्ने उपायको सचेता कार्यक्रम, लामखुटे मार्ने र सुपानेट झुल वितरणको अभियान संचालन भईरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार ०३:५३