सूचनाको शक्ति - The Power Of Information

        

इजरायलद्वारा दुई हजार प्यालेष्टिनीलाई सुरक्षा नियन्त्रणमा


रामाल्लाह । सन् २०१८ मा इजरायलसँगको सीमा विवादको सन्दर्भमा करिब दुई हजार प्यालेष्टिनीलाई सुरक्षा नियन्त्रणमा लिएको प्यालेष्टिनी कैदीहरूको क्लब (पीपीसी)ले मङ्गलबार जनाएको छ । इजरायली जेलहरूमा प्यालेष्टिनी कैदीहरूका अधिकारका लागि कार्यरत अर्धसरकारी संगठन पीपीसीले प्यालेष्टिनी कैदी दिवसका सन्दर्भमा सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘यो बर्षको शुरूदेखि अहिलेसम्म ३६९ बालबालिका र ३६ महिलासहित एक हजार ९२८ प्यालेष्टिनीलाई इजरायली सुरक्षा घेरामा राखिएको पाइएको छ ।’
प्रतिवेदन अनुसार इजरायलको स्थापना भएको दिन सन् १९४८ को मे १४ देखि हालसम्म करिब १० लाख प्यालेष्टिनीलाई इजरायली प्रशासनले पक्राउ गरेको छ । प्यालेष्टिनी नागरिकले इजरायल स्वतन्त्र भएको उक्त दिनलाई नाक्वा दिवस अर्थात विनासको दिनका रूपमा लिँदै आएका छन् । इजरायल स्वतन्त्र भएपछि हालसम्म लाखौँ प्यालेष्टिनी आफ्नो भूमि छोडेर पूर्वी जेरूसेलम, वेस्ट बैंक तथा गाजा क्षेत्रमा विस्थापित रूपमा जीवन विताउँदै आएका छन् । अहिले इजरायली जेलमा ३५० बालबालिका, ६५ महिला र छजना सांसदसहित छ हजार पाँचसय प्यालेष्टिनी नागरिकले कैदी जीवन विताइरहेका प्रतिवेदनमा उल्लेख छ ।
कैदीले दिएको जानकारी अनुसार ४८ जनाले बीसबर्षदेखि, २५ जनाले २५ बर्षदेखि र १२ जनाले ३० बर्षदेखि निरन्तर जेल जीवन विताइरहेका छन् । यस्तै जेलमा रहेका ७०० कैदी दीर्घरोगबाट पीडित रहेका र नियमित औषधि लिइरहेका छन् भने तीमध्ये २६ जनालाई क्यान्सरको समस्या देखिएको छ । प्यालेष्टिनीहरूले प्यालेष्टिनी राष्ट्रिय परिषद्को घोषणा गरिएको दिन सन् १९७४ अप्रिल १७ लाई कैदी दिवसका रूपमा मनाउँदै आएको छ भने परिषद्ले सम्पूर्ण कैदीको रिहाइका लागि आन्दोलन गर्दै आएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार ०३:१६