सूचनाको शक्ति - The Power Of Information

        

अर्थमन्त्रीद्वारा तरलता संकटको बचाउ, ‘आन्तरिक निक्षेपले मात्र पुग्दैन’


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक निक्षेपले मात्र कर्जाको माग नधान्ने भन्दै विदेशबाट ऋण ल्याउनुपर्ने बताएका छन् । निक्षेप परिचालनको तुलनामा कर्जाको माग बढी भएकाले बैंकिङ प्रणालीमा तरलताको संकट देखिएको भन्दै उनले आन्तरिक निक्षेपले मात्र कर्जाको माग नधान्ने उनले स्पष्ट पारेका छन् ।
‘तरलताको समस्या बढेपछि ब्याजदर माथि गएको हो,’ उनले भने आन्तरिक वचतले मात्र अब पुग्दैन । अब बाहिरबाट ऋण ल्याउनुपर्छ ।’ गत वर्षदेखि बाहिर आएको लगानीयोग्य पुँजीको समस्या यो वर्ष पनि दोहरिएपछि आन्तरिक वचतले मात्र बैंकलाई लगानी गर्न नपुग्ने निष्कर्षमा अर्थमन्त्री पुगेका हुन् ।
राष्ट्र बैंकले व्यवस्थापन गर्न नसक्दा बजारमा तरलताको संकट देखिएको आरोप गभर्नर डा. चिरन्जीवि नेपालमाथि लाग्दै आएको छ । नेपाल राष्ट्र बैंकले विदेशबाट कर्जा ल्याउन वाणिज्य बैंकले खुला गरिसकेको उनले जानकारी दिए । विदेशबाट लगानी ल्याउन अझ १,२ वटा काम गर्न बाँकी रहेको उनले सुनाए ।
नेपाल उद्योग वाणिज्य महासंघको ५२ औ वार्षिक साधारणसभामा व्यवसायीको जिज्ञासालाई मेट्दै उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन सुझाए । ‘तपाईहरु जति छिटो बैदेशिक लगानी ल्याउनु हुन्छ त्यति नै सरकारले सहजीकरण गरिदिने छ,’ उनले भने । सरकार आन्तरिक ऋणले मात्र नपुग्ने भएपछि वैदेशिक ऋण बढी ल्याउने तयारीमा रहेको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षको ७ महिनामा बैंकहरुले निक्षेप परिचालन भन्दा कर्जा लगानी १ खर्ब रुपैयाँ बढी गरेकाले आन्तरिक बचतले नपुग्ने देखिएको हो । निक्षेप सुस्त गतिमा र कर्जाको माग अधिक बढेकाले अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव देखिएको हो । बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ हारहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।
अधिकाँश बैंकको प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८ प्रतिशत रहेपछि लगानी गर्न सकेका छैनन् । एनएमबी बैंक र एनआईसी एसिया बैंकले विदेशबाट ऋण ल्याउनका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन् । गत फागुन मसान्तमा वार्षिक विन्दुगत आधारमा १३ प्रतिशतले विस्तार भएको निक्षेप भन्दा कर्जा वृद्धिदर १७.४ प्रतिशत रहेबाट वित्तीय स्थिति कसिलो रहेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १२:३०