सूचनाको शक्ति - The Power Of Information

        

गाईभैंसीको दूध दुहुन पनि अब मेसिनको प्रयोग !

ललितपुर । ललितपुरका व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन् । हातले भन्दा मेसिनले दुहुँदा चाँडो हुने र सबै दूध निखारेर आउने हुनाले किसानको आकर्षण त्यसतर्फ बढ्न थालेको हो ।
पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन्, ‘मेसिन भित्रिएको केहीवर्ष भए पनि पछिल्लो समय यसको प्रयोग ह्वात्तै बढेको छ ।’ उपभोक्तामा सजकता बढ्दै जाँदा किसानले दूध दुहुँदादेखि संकलन केन्द्रसम्म पुर्याउँदा दूध सफा बनाउन थालेका छन् । मेसिनबाट दुहुँदा दूधमा अरु फोहर मिसिन नपाउने झाको भनाइ छ । गाईको थुनमा घाउ हुने समस्यासमेत मेसिनको प्रयोगले हटाएको छ ।
उनी भन्छन्, ‘मेसिनको प्रयोगले एकातिर सफाइ सहज भएको छ भने अर्का्तिर किसानले त्यही समयमा अरु काम गर्न पाएका छन् ।’ मेसिनको प्रयोगले १० मिनेटमा दुईवटा गाई दुहुन सकिन्छ । दशवटा वा त्योभन्दा बढी गाई पाल्ने किसानका लागि मेसिनको प्रयोग उपयोगी छ । बजारमा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्ममा मेसिन खरिद गर्न सकिन्छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ११:४५