काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७६२ मेगावाटको तमोर जलासययुक्त आयोजनाको काम अघि बढाएको छ । प्राधिकरणले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारीका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । प्राधिकरणले बिहीबार ग्लोबल टेण्डर गरी विदेशी परामर्शदातासँग आशयपत्र मागेको छ ।
आशयपत्रबाट छनौट हुने कम्पनी विस्तृत अध्ययनको कामका लागि बोलपत्रमा भाग लिन पाउने छन् । सम्भाव्यता अध्ययनका लागि एसियाली विकास बैंक (एडीबी) ले सहयोग गरेको छ । आयोजना अघि बढाउन प्राधिकरणले तमोर पावर कम्पनी लिमिटेड स्थापना गरेको छ ।
बोलपत्रबाट छनौट हुने परामर्शदाताले आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन प्रारुपका साथै सिभिल निर्माणका लागि बोलपत्र कागजात पनि तयार गर्नुपर्ने छ । बोलपत्रमा भाग लिने परामर्शदाताको व्यवस्थापन ३०, प्राविधिक ६० र भौगर्भिक १० प्रतिशत रहने आयोजनाले जनाएको छ ।
आयोजनाको डीपीआर काम सक्न ६६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । काम सुरु भएको डेढ वर्षमा डीपीआर सकेर सिभिल निर्माण थाल्ने आयोजना प्रवन्धक प्रेमचन्द्र गुप्ताले बताए । उनले काम सुरु गरेको ७ वर्षमा आयोजना सम्पन्न हुने जानकारी दिए ।
आयोजना प्रस्तावित १२ सय मेगावाटको बुढीगण्डकी भन्दा पनि सस्तो रहेको उनको भनाई छ । प्रारम्भिक अध्ययनअनुसार आयोजना बनाउ १ खर्ब ५० अर्ब रुपैयाँ अर्थात १ अर्ब २० करोड अमेरिकी डलर लाग्ने देखिएको छ । आयोजनाबाट १४५ घर मात्र विस्थापन हुने छन ।
यस्तै जग्गाको मुआब्जा पनि कम लाग्ने भएकाले यसमा कम लगानी भए पुग्ने देखिएको छ । प्रारम्भीक अध्ययनअनुसार आयोजनाबाट वार्षिक ३ अर्ब ३० करोड युनिट बिजुली उत्पादन हुनेछ । जसअनुसार सुख्खायाममा १ अर्ब १० करोड युनिट उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको गुप्ताले जानकारी दिए ।
डीपीआर तयारपछि लागत र उत्पादन हुने ऊर्जाको बारेमा जानकारी प्राप्त हुनेछ । आयोजना पूर्वी नेपालको तेह्रथुम र पाँचथर जिल्लामा पर्छ । आयोजनाबाट हाल निर्माणधिन ३७ मेगावाटको कावेली ए र २१ मेगावाटको हेवाखोला आयोजना डुब्ने बताइएको छ ।
।