सूचनाको शक्ति - The Power Of Information

        

आमा समूहमा आवद्ध हुँदा छोरा रोजगार

शेरबहादुर सिंह । भीमदत्तनगर । विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैया शिविरकी ४८ वर्षीय अग्निदेवी डगौंरालाई परिवारको लालनपालनदेखि बच्चाको स्याहारसम्मको चिन्ताले पिरोल्यो ।
करीब दुई दशक झलारीमा कमैयाजीवन बिताएका उनका श्रीमान् बुद्धिराम चौधरीले मुक्त भएपछि पाएको पाँच कठ्ठा जग्गामा खेती गरेर परिवार पाल्न थालिन् । चौधरी दम्पती २०६२ सालमा गाउँमा गरीबी निवारण कोषले गठन गरेको सामुदायिक समूहमा आवद्ध भएसँगै काम गर्नसक्ने आँट भएको अग्निदेवी बताउँछिन् ।
‘केही गरुँ भन्दा पनि साहुजनले कमैया भन्दै ऋण दिनै मान्दैनथे,’ विगत सम्झदै उनले भनिन्, ‘अहिले समूहमै आवद्ध हुँदा व्यावसायिक कामदेखि छोरोलाई गाउँमै रोजगारसम्म बनाउन पाउँदा खुशी छु ।’ गरीबी निवारण कोषले शिविरका स्थानीयवासीको आयस्तर उकास्न व्यवसायमा प्रेरित गर्ने उद्देश्यले गठन गरेको सन्तोषी सामुदायिक संस्थामा आवद्ध भएकी अग्निदेवीले शुरुमा समूहमा मासिक रु पाँच बचत गर्ने गरेको बताइन् ।
‘अहिले रु एक सय बचत गर्न थालेकी छु,’ उनले भनिन्, ‘समूहले आर्थिकसँगै आत्मनिर्भर हुन सिकायो ।’ समूहबाट रु २० हजार ऋण लिएर बंगुरपालन थालेको चौधरी परिवारले अहिले गाउँमै नमूना मिलसमेत सञ्चालन गरेको छ ।
‘बंगुरपालनसँगै अहिले छोराले रु पाँच लाखको लगानीमा कुटाइपिसाइको मिल समेत सञ्चालन गरेको छ,’ अग्निदेवीले भनिन्, ‘रु ३० हजार ऋण लिएर किनेको मिलको सबै ऋण चुक्ता गरिसक्यौँ ।’ आमाको समूहमा आवद्धताकै कारण आफू बेरोजगार हुनबाट जोगिएको छोटेलाल बताउँछन् ।
तीस वर्षीय छोटेलालले बुबा कमैया हुँदा आर्थिक अवस्था कमजोर भएका कारण पाँच कक्षामै पढ्न छाड्नुपरेको बताए । ‘पढाइमा राम्रै थियो । घरको अवस्थाले पढ्न नसक्दा गाउँमै डकर्मीको काम गरे,’ छोटेलालले भने, ‘आमाको ऋणबाट गरेको व्यवसायले अहिले परिवारको खर्च टरेको छ, ऋणबाट हाम्रो परिवारको स्थितिमा धेरै सुधार आयो ।’
ऋण लगानीकै कारण आफू मिलको मालिक बन्न सकेको उनको भनाइ छ । विसं २०७२ देखि शिविरमा मिल सञ्चालन गरेका छोटेलाल अहिले दैनिक रु एक हजार ५०० देखि रु दुई हजारसम्म आम्दानी हुनेगरेको बताउँछन् । ‘चाडपर्वका बेला रु तीन–चार हजारसम्म कमाइहुन्छ,’ उनले भने, ‘शुरुमा रु तीन लाख पर्ने मेसिन रु ३० हजार तिरेर धनगढीबाट उधारोमा ल्याए, अहिले डेढ लाख रुपैयाँमा अर्को मेसिन समेत ल्याइसकेँ ।’
अहिले विदेशको कमाइ घरमै बसीबसी गर्न सकेको उनी बताउँछन् । मुक्तकमैया शिविरमा हुर्किएका उनी सरकारले कमैयाका बालबालिकाको शैक्षिकस्तरमाथि उठाउन विशेष खालका प्याकेज ल्याउनुपर्नेमा जोड दिन्छन् । ‘अध्ययन नभएपछि फेरि कमैया बस्नुपर्ने अवस्था नआउला भन्न सकिन्न,’ उनले भने, ‘शैक्षिक अवस्थामा सुधार आए परिवार र समाजमा सुधार आउन कठिन हुन्न ।’
सरकारले दिएको पाँच कठ्ठा जग्गा पर्याप्त छैन । उनको मिलमा पिसाइका लागि नौखरी शिविरसँगै, फारिफाँटा, फुलेली र सिसैयाबाट समेत स्थानीयवासी आउने गरेका छन् । हाल नौवटा बंगुरपालन गरिरहेको बताउँदै छोटेलालले गत वर्ष रु एक लाख दश हजारमा बंगुर बिक्री गरेको बताए ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) गरीबी निवारण कोषका कार्यक्रम संयोजक टेक बुढाले शुक्लाफाँटा नगरपालिकामा मात्रै कोषका ३३ वटा समूह रहेको बताए । ‘सबैतिर अहिले आयमूलक काममा लागेर समूह हँुदै सहकारीसम्ममा बचत गर्नेसम्म भइसकेका छन्,’ संयोजक बुढाले भने, ‘नौखरी शिविरमा तरकारी खेतीदेखि मोबाइल र किराना पसलसम्म सञ्चालन गरेर परिवारको खर्च चलाउनेको संख्या अत्याधिक रहेको छ ।’ रासस

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०८:२८