सूचनाको शक्ति - The Power Of Information

        

भैरहवा सेजमा ठूला घरानाको उपस्थिति बाक्लिँदै


काठमाडौं । भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनाका लागि अघिल्लो सूचनामा खासै चासो नदेखाएका ठूला औद्योगिक घरानाले यसपटक भने बाक्लो उपस्थिति रहने संकेत देखिएको छ ।
सेजले चैत २७ गते मंगलबार खाली ३१ प्लटका लागि सूचना गरी गरेको थियो । सूचना जारी गर्नु अघि नै ठूला औद्योगिक घरानाले चासो देखाएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका सूचना अधिकारी सुन्दर थापाले जानकारी दिए । यसको अर्थ सेजमा ठूला औद्योगिक घरानाको आर्कषण बढ्दो छ भन्ने हो ।
सूचना आउनुअघि नै पञ्चकन्या, मुरारका समूह माइनिङका लागि भन्दै प्रकाश महर्जनलगायतका ठूला औद्योगिक घरानले यसपटक उद्योग स्थापनाको लागि आवेदन राख्दै छन्,’ उनले भने । यसअघि हुलास स्टीलले उद्योग स्थापनाको लागि सम्झौता गरे पनि पछि उद्योग स्थापनाको लागि आवश्यक तयारी भने नगरेको उनले बताए ।
सेजले यसअघि सूचना प्रकाशित गर्दा १९ वटा उद्योगले सेजभित्र उद्योग स्थापना गर्ने भन्दै आवेदन हालेका थिए । तर, १३ वटा उद्योगले मात्र पूर्वाधार निर्माण स्वीकृति दिएको थापाले जानकारी दिए । अझै सेजमा ३१ वटा प्लट बाँकी छ । यसैका लागि प्राधिकरणले दोस्रो सूचना निकालेको हो ।
‘दोस्रो सूचना प्रकाशित गर्दा त्योभन्दा धेरै उद्योगले आवेदन हाल्ने सम्भावना बढेको छ,’ उनले थपे, ‘ठूला घराना आइदिए भैरहवाको सान र मान दुवै बढ्ने थियो । यद्यपि, यसो भनेर साना उद्योगलाई सेजले कहिले पनि भेदभाव गर्दैन, उल्टै अझ प्रोत्साहन गर्छ ।’ राम्रा उद्योगले सेजमा सथान पाउने प्राधिकरणले जानकारी दिएको छ ।
उनका अनुसार सेजले सूचना प्रकाशित गरेको छ । अब आएपछि पञ्चकन्या, मुरारकालगायतका अन्य ठूला औद्योगिक घरानाले लिखित रुपमा निवेदन हाल्नेछ । जगदम्बा सेन्थेसिस, किरण सुज, सुगम नानो हर्बल, एसियन थाइफूडलगायतका उद्योगले उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार तयार पार्दैछन् । एग्रो प्रसोधन उद्योगदेखि जुस जुत्ता, ग्रामेन्टलगायतका उद्योग पहिला नै आइसकेका छन् ।
१० हजारदेखि २० हजार स्वायर मिटरसम्म औद्योगिक प्रयोजनका लागि जग्गा माग भएको थापाले बताए । हालसम्म सेजमा अनुमति पाएका १३ उद्योगलाई धान्ने बिजुली (४.००४ मेगावाट) भएको उनले बताए । नयाँ उद्योगको प्रवेशसँगै आवश्यक विद्युत् जडान गरी दिन नेपाल विद्युत प्राधिकरण स्वयम् ऊर्जा मन्त्रीले समेत प्रतिबद्धता गरिसकेकाले अब बिजुलीको अभाव नहुने थापाले जानकारी दिए । छिट्टै विद्युत् सबस्टेशनका लागि टेन्डर हुन लागेको समेत उनले बताए ।
पूर्वाधार निर्माण गर्न चाहिने एक मेगावाट विद्युत्समेत तत्काल उपलब्ध हुने उनको भनाइ छ । विद्युत् उपलब्ध गराइदिन अनुरोध गर्दै लिखित निवेदन आएको तीन दिनभित्र प्राधिकरणले विद्युत् उपलब्ध गराउने सेजले जनाएको छ । केही महिनाअघि विद्युत् अभावका कारण उद्योगले पूर्वाधार निर्माण गर्न नसकेपछि सेजको विशेष सक्रियतापछि प्राधिकरण र सेजबीच विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०७:४६