सूचनाको शक्ति - The Power Of Information

        

नौ महिनामा २६० कर्मचारी भ्रष्टाचारको आरोपमा प्रक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो ९ महिनामा विभिन्न क्षेत्रमा कार्यरत २६० जना सरकारी कर्मचारीलाई भ्रष्टाचारको आरोपमा प्रक्राउ गरेको छ ।
भ्रष्टाचार गर्नेहरुमा कर्मचारीहरुमा खरिदारदेखि नायाब सुब्बा, अधिकृत, उपसचिव, सचिवसम्म रहेको अख्तियारले जनाएको छ । पक्राउ परेका २६० जनामध्ये अधिकांश निजामति कर्मचारी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए ।
‘अख्तियारले आफ्नो मिसनलाई सुरो बनाएर अघि बढाएको छ, प्रक्राउ गरिएका व्यक्तिहरु ९० प्रतिशत भन्दा बढी निजामति कर्मचारी रहेका छन्, उपसचिवदेखी कार्यालय सहयोगी समेत घुस रकम लिदादिदैं पक्राउ परेका छन्, नजिकबाट यिनीहरुको गतिविधि नियालिरहेका छौं,’ मैनालीले भने ।
पक्राउ परेका व्यक्तिहरु मध्येबाट १० अर्ब ४६ करोड बिगो माग अख्तियारले उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायार गरेको छ । पक्राउ पर्ने कुनै पनि व्यक्ति उम्कन नसक्ने प्रवक्ता मैनालीले बताए । त्यस्तै, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, विभिन्न संस्थान तथा नगरपालिकाका कर्मचारी समेत भ्रष्टाचारमा तानिएका छन् ।

अख्तियारको आँखा अब स्थानीय तहमा
अख्तियारले ७५३ नै वटा स्थानीय तहमा कर्मचारी खटाइसकेको जनाएको छ । नेपालको संविधान २०७२ को भाग २१ को धारा २३८ देखि २३९ सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कतव्र्य र अधिकारबारे उल्लेख गरिएको छ ।
संघीयतामा अख्तियार केन्द्रबाटै सञ्चालन हुनेछ । संविधानको धारा २३९ को उपधारा ६ अनुसार अधिकृत सरह खटिएको कर्मचारीलाई अधिकार प्रत्यायोजन गरी कुनै क्षेत्रमा खटाउन सक्छ । स्थानीय तहमा हुन सक्ने भ्रष्टाचार रोक्न अख्तियारले सम्पूर्ण तयारी गरिसकेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०७:३०