सूचनाको शक्ति - The Power Of Information

        

म्याग्दीमा पर्यटकको चहलपहल बढ्दै

ध्रुबसागर शर्मा । बेनी (म्याग्दी) । वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ । चालु वर्षको जाडो समय सकिएर गर्मीयाम शुरु भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल शुरु भएको हो । पर्यटन समय शुरु भएपछि जिल्लामा पर्यटकको आवागमन बढेको बताइएको छ ।
म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरू अधिकांश सडकमार्ग भएर आउने गरेका छन् । जिल्लामा पर्वतको मालढुङ्गा हुँदै सदरमुकाम बेनी, पश्चिमको दरबाङ, बागलुङदेखि रत्नेचौर र उत्तरी भूरुङ–तातोपानी नाका भएर म्याग्दीको भ्रमणमा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । यसैगरी कतिपय पर्यटक टे«किङ एजेन्सीमार्फत सिधै हवाई मार्ग भएर जिल्लाको भ्रमणमा आउने गरेका छन् भने हिमालपारीको जिल्ला मुस्ताङबाट समेत पर्यटकहरू यहाँ भित्रिने गरेका छन् ।
जिल्ला भ्रमण गर्न भित्रिने बाह्य पर्यटकहरूको तथ्याङ्क प्रहरीसँग रहे पनि आन्तरिक पर्यटकहरू कति भित्रिन्छन् रु भनेर कुनै सरकारी वा गैरसरकारी निकाय तथा संघसंस्थासंग तथ्याङ्क छैन । बेनीका होटल व्यवसायीका अनुसार जिल्लामा बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने भए पनि आधिकारिक तथ्याङ्क कसैसँग रहेको छैन । विगतका वर्षको तुलनामा यो समयमा पर्यटकको आवागमनमा कमी आएको होटल याक एण्ड रेष्टुरेण्टका सञ्चालक बाबुराम आचार्यले बताए ।
पर्यटन सिजन शुरु भैसक्दा पनि सीमित मात्रामा मात्रै आन्तरिक तथा बाह्य पर्यटक आएको बताउँदै उनले जिल्लामा पर्यटक भित्र्याउनका लागि आवश्यक पहल गर्नुपर्ने बताए । उनका अनुसार म्याग्दीमा युरोपियन, अमेरिकन, इटालीयन, इन्डियनका साथै नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रका पर्यटक बढी आउने गरेका छन् । हालै मात्र बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका कारण दैनिक ८ घण्टासम्म सडक बन्द हुने भएकाले पनि पर्यटकको आगमन कमि भएको होटल व्यवसायी आचार्यको भनाई छ ।
म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायीसमेत रहेका आचार्यले प्रायः पर्यटकहरू एकदिन भन्दाबढी नबस्ने र अधिकांश पर्यटकले मुस्ताङको जोमसोम, मुक्तिनाथ र कोरला भ्रमणलाई प्राथमिकता दिने गरेको बताए । यातायात व्यवसायीले जुनसुकै समयमा पनि पर्यटक बोकेर हिँड्ने भएकाले पनि पर्यटकको म्याग्दी बसाई लम्ब्याउन नसकिएको होटल व्यवसायीको गुनासो छ । जिल्लामा भित्रिने पर्यटकको सुरक्षा तथा उनीहरूलाई समस्या परेको खण्डमा तत्कालै उद्धारका लागि आवश्यक कदम चाल्ने गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताइन् ।
पर्यटकीय हिसाबले म्याग्दी जिल्ला सुरक्षित र पर्यटनमैत्री रहेको बताउँदै उनले आगामी दिनमा पर्यटनमैत्री संरचना तथा भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ भनिन् । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कुल २६ हजार ५१८ जना पर्यटकले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । तीमध्ये १३ हजार ९७६ पुरुष र १२ हजार ५४२ महिला छन् ।
गतवर्ष ६९ हजार ८१६ जनाले जिल्लाको भ्रमण गरेको प्रहरीले जानकारी दिएको छ । म्याग्दी भ्रमणमा आउने अधिकांश पर्यटकहरू घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, राउण्ड धौलागिरी र अन्नपूर्ण पदमार्गमा यात्रा गर्ने तथा धौलागिरी बेसक्याम्प र धौलागिरी–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन् । रासस

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०६:१५