सूचनाको शक्ति - The Power Of Information

        

६७ अर्ब खर्चेर तीन वर्षमा थप १ लाख ७२ हजार हेक्टर सिञ्चित गर्ने सरकारको लक्ष्य

राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन

राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन


काठमाडौं । सरकारले ६७ अर्ब रुपैयाँ लगानी गरेर १ लाख ७२ हजार हेक्टर जमिनमा सिचाइँ पुर्याउने भएको छ । खेतियोग्य जमिनमा सिंचाई पुर्याउन सरकारले सिक्टा सिंचाइ, रानीजमरा कुलरिया सिंचाइ, बबई सिंचाइ र भेरी बबई डाइभर्सन आयोजनाको निर्माण गरिरहेको छ ।
आगामी ३ वर्षभित्र यी सबै आयोजना सम्पन्न भई थप १ लाख ७२ हजार ७६ हेक्टर क्षेत्रमा सिचाइँ पुग्ने छ । सिंचाइको अतिरित्त ४८ मेगावाट बिजुली उत्पादन हुनेछ । ४ वटै राष्ट्रिय गौरवका सिचाइँ आयोजना हुन् ।
बाँके जिल्लामा रहेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी पश्चिमतर्फ ३३ हजार ७६६ र पूर्वतर्फ ९ हजार गरी कुल ४२ हजार ७६६ हेक्टर क्षेत्रफलमा सिँचाइँ उपलब्ध गराउन सिक्टा आयोजना निर्माण भइरहेको छ ।
यो आयोजना सम्पन्न गर्न २५ अर्ब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजना ०७६/०७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हालसम्म आयोजनाको ५६ प्रतिशत काम सकिएको सिंचाई विभागले जनाएको छ ।
यस्तै कैलालीमा सिचाइँ सुविधा पुर्याउन कर्णाली नदीको पानी लैजान हाल रानीजमरा कुलरिया सिचाइँ आयोजनाको निर्माण धमाधम भइरहेको छ । जमरा सिचाइँ प्रणालीमा १४ हजार ३००, लम्किी विस्तारको ६ हजार र पथरैयादेखि कान्द्रा खोलासम्म १८ हजार गरी कुल ३८ हजार ३०० हेक्टर जमिनमा सिचाइँ पुग्नेछ ।
आयोजना बनाउन १२ अर्ब ६३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म आयोजनाको प्रगति ६८ प्रतिशत छ । आउदो ०७६/०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यस्तै बर्दियाको ४० हजार हेक्टर जमिनमा वर्षैभरी सिचाइँ पुर्याउन बबई सिचाइँ आयोजना निर्माणधिन छ । बबई नदीको पूर्वतर्फ १९ हजार र पश्चिमतर्फ १५ हजार हेक्टरमा सिंचाई पुर्याउने सरकारको योजना छ ।
आयोजना सम्पन्न गर्न १२ अर्ब ५६ करोड रुपैयाँ लाग्ने छ । हालसम्म आयोजनाको ८१ प्रतिशत प्रगति भएको विभागले जनाएको छ । यस्तै भेरी नदीको ४० घनमिटर पानी बबई नदीमा खसालेर बाँके र बर्दियामा गरी ५१ हजार हेक्टर जमिनमा सिचाइँ पुर्याउन सरकारले भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण थालेको छ ।
आयोजनाको लागत १६ अर्ब ४३ करोड रुपैयाँ छ । आयोजना ०७७/०७८ मा सकिने छ । १२ किलोमिटर लामो सुरुङबाट पानी बबईमा खसाल्ने यो आयोजनाबाट ४८ मेगावाट बिजुलीको उत्पादन हुनेछ । यो आयोजनामा पहिलो पटक टनेल बोरिङ प्रविधिबाट सुरुङ खन्ने काम भइरहेको छ ।
हालसम्म ३ हजार २ सय मिटर सुरुङ खन्ने काम सकिएको छ । हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सिचाइँ विभागका अनुसार हालसम्म १४ लाख ३३ हजार २८७ हजार हेक्टर जमिनमा सिचाइँ सुविधा पुगेको छ । सिचाइँयोग्य जमिन १७ लाख ६६ हजार रहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०५:५५