सूचनाको शक्ति - The Power Of Information

        

डिआईजी खरेलको राजीनामा स्वीकृत, आफ्नो उचित मूल्याङकन नभएको गुनासो

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै उनले राजीनामा बुझाएका थिए ।
उनको राजीनामा गृह मन्त्रालयले बुधबारै स्वीकृत गरेको हो । खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै राजीनामा दिएका थिए । उनी ०४५ सालबाट भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेका थिए ।
प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाँउदै डिआईजी रमेश खरेलले बुधबार दिउँसो प्रहरी मुख्यालयमा गएर उनले राजीनामा बुझाएका थिए । सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछि आफ्नो उचित मूल्याङकन नभएको भन्दै खरेलले राजीनामा दिएका हुन् ।
राजीनामा दिनुअघि उनले खनाललाई बधाई दिएका थिए । खनालले खरेललाई फोन गरेर राजीनामा नदिन आग्रह गरेका थिए । नेपाल प्रहरीका ‘हिरो’ प्रहरी अधिकृतका रुपमा चिनिएका खरेललाई डिआइजी बढुवामा पछि पारिएको थियो ।
एसएसपीमा पहिलो नम्बरमा रहेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो नम्बरमा डिआइजीमा बढुवा गरेको थियो । त्यसअघि उनी सधैं आफ्नो ब्याचमा एक नम्बरमा बढुवा हुँदै आएका थिए । सरकारले त्यसबेला पहिलो नम्बरमा बढुवा गरेका सर्वेन्द्र खनाल सोमबार आइजिपीमा बढुवा भए ।
खरेल २०४५ साल फागुन १ गते भलिबल खेलाडीका रुपमा प्रहरी जवान पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । १० महिनापछि उनले अनिवार्य अवकाश पाउँदैछन् । नेपाल प्रहरीमा उनी ‘पहिलो हिरो’ का रुपमा चिनिन्छन् । एसपी पददेखि खरेलको चर्चा सुरु भएको थियो ।
सप्तरीको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गर्दा अपराधीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएपछि उनको चर्चा सुरु भएको थियो । त्यसपछि पोखरा, पर्सा र काठमाडौंको प्रहरी प्रमुखका रुपमा काम गर्दा उनको चर्चा चुलिएको थियो । कसैको दबाब नमान्ने र लोभमा नपर्ने कारण उनी जनमानसमा रोलमोडल बने ।
उनको त्यही चर्चा पछि प्रहरीमा ‘ट्रेन्ड’ बन्यो । तर, नेताहरुसँग भने उनको सम्बन्ध बिग्रँदै गयो । जसकारण डिआइजी बढुवामा उनी पछि परे । उनको त्यही ‘एग्रेसिभ पुलिसिङ’ नै आइजिपी बन्ने सपनाका लागि बाधक बन्यो । आइजिपीका अर्का प्रमुख प्रतिस्पर्धी पुष्कर कार्कीले भने सरकारको निर्णय स्वीकार गर्ने बताएका छन् ।
आइजिपीका तिनै जना प्रतिस्पर्धी उत्तिकै काबिल मानिन्थे । प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा खरेल र कार्की भए पनि प्रचण्डको अडानपछि सरकारले खनाललाई नै आइजिपी बनाएको हो । बुधबारदेखि उनले कार्यभार सम्हाल्दैछन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १२:२५