सूचनाको शक्ति - The Power Of Information

        

दुई खनालको नेतृत्वमा सुरक्षा, नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्र प्रहरीमा शैलेन्द्र बने आईजिपी

नेपाल प्रहरीका नवनियुक्त आईजिपी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका शैलेन्द्र खनाल

नेपाल प्रहरीका नवनियुक्त आईजिपी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका शैलेन्द्र खनाल


काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआईजी) बरियतामा एक नम्बरमा रहेका सर्वेन्द्र खनाल नेपाल प्रहरीको २६ औं महानिरीक्षक (आईजिपी) नियुक्त भएका छन् । सशस्त्र आईजिपीमा सरकारले शैलेन्द्र खनाललाई नियुक्त गरेको वनमन्त्री शक्ति बस्नेतले जनाएका हुन् ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नियमावलीअनुसार आईजिपी नियुक्तिको निर्यय गरेको हो । मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाबीच भएको छलफलले खनाल दाजुभाइलाई आईजिपी बनाउने निर्णय गरेको हो ।
बरिष्ठताका आधारमा आइजिपी नियुक्ति गर्ने सहमतिअनुसार मन्त्रिपरिषदले सो निर्णय गरेको हो । आठ महिनाअघि नायब महानिरीक्षकमा बढुवा भएका सर्वेन्द्र खनाल २०४६ माघ २९ मा प्रहरी निरीक्षकको रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी सेवाको २८ वर्षे कार्यकालमा काठमाडौं प्रहरी प्रमुख, महानगरीय अपराध महाशाखा, अञ्चल प्रहरी कार्यालय नारायणी र प्रहरी प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका उनी पछिल्लो पटक महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख थिए ।
सरकारले प्रमुख तीन प्रहरी संगठनमा लचिला प्रहरी अधिकारीका रुपमा परिचित खनाल २०२३ बैशाख १३ गते तनँहुमा जन्मिएका हुन् । नेपाल प्रहरीमा २०४९ सालमा निरीक्षकका रुपमा प्रवेश गरेका शैलेन्द्र २०५९ मा एकतह बढुवा नीति अनुसार सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए । गत असारमा अतिरिक्त महानिरीक्षक चयन भएका शैलेन्द्र हाल प्रशासन विभाग प्रमुख थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार ०३:५५