काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले पानीको सुरक्षालाई ध्यान दिन आग्रह गरेका छन् । मंगलबार राजधानीमा पानी, वातावरण र जलवायु परिवर्तन ज्ञानको आदानप्रदान र साझेदारी विषयक तीन दिवसीय अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले पानीलाई सुरक्षा गर्नु पर्नेमा जोड दिएका थिए ।
सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले बढ्दो जनसंख्या र सहरीकरणको चापले पानीको स्रोत, वनजंगल र जमीनमा मानवीय चाप पर्दै गएको भन्दै पानीको आपूर्ति अत्यन्त संवेदनशील भएको बताए । संयुक्त राष्ट्र संघले दिगो विकासका लागि निर्धारण गरेका लक्ष्यहरुलाई राष्ट्रिय योजनामा ढालेर कार्यान्वयनमा ल्याउन पर्नेमा उनको जोड थियो ।
त्यस्तै सम्मेलनमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान सुड. सूले जीवनको प्रमुख आधारको रुपमा रहेको पानीको व्यवस्थापन अत्यन्तै चुनौतिपूर्ण रहेको बताए । उनले बढ्दो जनसंख्या, तीव्र सहरीकरण, बढ्दो औद्योगिकरणका कारण पानीको अभाव बढ्दै जानुको साथै पानीको प्रदुषण बढेको र व्यवस्थापनमा उचित ध्यान नपुगेकोले विश्वभर प्राकृतिक विपत्तिहरुको निरन्तर सामना गर्नुपरेको उनको भनाइ छ ।
संयुक्त राष्ट्र संघको हाई लेभल एक्सपर्ट एण्ड लिडर इन वाटर एण्ड डिजआस्टरका चेयरमेन रहेका डा.सूले पानीको समुचित व्यवस्थापन गर्न नजान्दा कतै अभाव,कतै बाढी पहिरो, कतै सुनामी र आँधीको समस्या उत्पन्न हुने गरेको जानकारी गराए ।
जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा उक्त सम्मेलनको आयोजना भएको हो । आयोजकको अनुसार उक्त सम्मेलनमा १८ वटा कि नोट पेपर, ११६ वटा कार्यपत्र प्रस्तुत गरिनेछ । करिब १५० जना विदेशी भने ३५० जना नेपाली पानी वातावरण लगायतको विज्ञहरुको प्रस्तुति तथा सहभागी हुनेछ ।
।