तस्विर : ट्रेकिङ व्यवसायी विक्रम पाण्डेको फेसबुकबाट
काठमाडौं । नेपालका लागि राजदूत भएर काम गरिसकेका तीन पूर्व भारतीय कूटनीतिज्ञ एकैपटक डोल्पा भ्रमणमा निस्किएका छन् । सरकारबाट पर्यटकको अनुमति लिएर उनीहरु निषेधित क्षेत्रको भ्रमणमा जान लागेका हुन् ।
नेपालका लागि पूर्व भारतीय राजदूतहरु देव मुखर्जी, श्याम शरण र रञ्जित राय मंगलबारदेखि डोल्पा भ्रमणमा गएका हुन् । उनीहरु सोमबार दिउँसो नेपाल आएका थिए । अध्यागमन विभागबाट उनीहरुले एक साताका लागि डोल्पा जान अनुमति लिएका छन् ।
तिब्बतसँगको संवेदनशीलता तथा ‘भर्जिन’ क्षेत्र भएकाले डोल्पा लगायत अधिकांश हिमाली जिल्लालाई गृह मत्रालयले निषेधित क्षेत्रमा राखेर सरकारको अनुमति लिएर मात्र विदेशीलाई जान पाउने प्रावधान लागू गरेको छ ।
यद्दपि, अनुमति लिएर त्यहाँ गएका पर्यटकहरुमाथि नियमन गर्ने कुनै संयन्त्र भने सरकारसँग छैन । उनीहरुको भ्रमणबारे सरकारले चासो देखाएको छैन । त्यसैबीच, भारतीय सीमा सुरक्षा बल एसएसबीका पूर्व महानिर्देशक कृष्णकुमार शर्मा पनि हाल नेपालमै छन् ।
।