
काठमाडौं । सरकारी ढुकुटी रित्तिएपछि अर्थ मन्त्रालय र राजश्व प्रशासन कर असुलीतर्फ आक्रामक रूपमा अगाडि बढेको छ । डा युवराज खतिवडा अर्थमन्त्री लगत्तै भन्सार नाकामा कडाई गरेको अर्थ मन्त्रालयले बाँकी बक्यौता असुलीलाई पनि जोड दिएको छ ।
अर्थमन्त्री खतिवडाले अब राजश्व प्रशासन इमान्दार बन्ने बताउँदै व्यवसायीलाई पनि इमान्दार बन्न आग्रह गरेका छन् । सरकारले ३० जना सचिव सरूवा गर्दा मन्त्री खतिवडाले राजश्व प्रशासनमा लामो समय काम गरेका अनुभवी सचिवहरू राजन खनाल र शिशिर ढुंगानालाई अर्थ मन्त्रालयमा राखेका छन् ।
मंगलबार आन्तरिक राजस्व कार्यालय क्षेत्र न २ ले मुल्य अभिवृद्धि कर, आय कर लगायतका कर बक्यौता रहेका २५ ठूला संस्था तथा व्यक्तिरहित ३३६ कम्पनीलाई बाँकी बक्यौता तिर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । आयकर र मुल्य अभिवृद्धि कर नर्तिने ३३६ वटा कम्पनीलाई कर तिर्न पत्र र टेलिफोन गर्दा समेत कुनै प्रतिक्रिया नआएपछि राजस्व कार्यलयले सार्वजनिक सूचना प्रकाशित गरेको उक्त कर कार्यालयका कर अधिकृत कपिल नेपालले बताए ।
‘३३६ वटै कम्पनीले बक्यौता रकम तिरेका छैनन, १५ दिनभित्र कर तिर्न कम्पनीहरुलाई समय दिएका छौं, यदि तिरिसकेको अवस्था छ भने सोको प्रमाणपत्र समेत तोकिएको मितिमा कार्यालमा पेश गर्नुपर्छ,’ अधिकृत नेपालले भने । समय अवधिभित्र नतिर्नेलाई कानूनी प्रक्रिया अघि बढ्ने उनले बताए । कर नतिरेमा कर नतिर्ने कम्पनीहरुलाई बैंक खाता बन्द गर्ने, आयात निर्यातमा रोक लगाउने, कम्पनीको नाममा रहेको जिन्सी सामाग्री लिलामी गर्ने तयारी कर कार्यालयले गरेको उनले बताए ।
त्यसमा चर्चित व्यवसायीहरू अरुणकुमार चौंधरी, राहुल अग्रवाल, ओमबहादुर राजभण्डारी, सुकुन्तलाल हिराचन, किरणकुमार मुडभरी, मेघा अग्रवाल, सुभेन्द्र कुमार राजभण्डारी, भवानीराज पाण्डे, प्रकाश रुद्र श्रेष्ठ, संजिव गोयल, लालबहादुर तामाङ, भुवनेश्वर पन्त, किसुनध्वज कार्की, शिवेक अग्रवाल, सुनिता बोहरा, भवानी तुलाधर, महेशकमार गुप्ता, रजनी तुलाधर, मशमविर प्रसाद अग्रवाल, विवेक शर्मा, नरेन्द्रकुमार श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, श्रीराजसिंह महर्जन, संजय चमडिया लगायतको नाम सार्वजनिक गरिएको छ ।
कर नर्तिनेहरुमा खाद्य संस्थान, चिनियाँ हाइड्रो कर्पोरेशन, एनजेएस कन्सल्टायन्टस, शर्मा युनाइटेड विल्डर्स, दिवा निर्माण जेभी लगायत ३३६ वटा कम्पनी रहेको छ । यसमध्ये खाद्य संस्थानले १५ करोड आयकर तिरेको छैन भने चिनियाँ सिनोहाइड्रो कम्पनीले १५ लाख मुल्य अभिवृद्धि कर तिरेको छैन । ३३६ वटा कम्पनीबाट अर्बौ रकम उठन बाकी रहेको राजस्व कार्यालयले जनाएको छ ।
।