सूचनाको शक्ति - The Power Of Information

        

पाँच करोडको काँचो इँटा असिना पानीले नष्ट


भक्तपुर । एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ । जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बाले जानकारी दिए ।
अधिकांश इँटा भट्टामा तयारी अवस्थामा रहेका करिब १० लाख काँचो इँटा नष्ट भएको छ । अहिले काँचो इँटा उत्पादनदेखि इँटा पोल्ने कामसमेत रोकिएको उनले बताए । यसवर्ष गतवर्षभन्दा कम इँटा उत्पादन भएको र तयारी अवस्थामा रहेको इँटासमेत नष्ट भएपछि इँटाको अभाव हुने सम्भावना बढेको ह्याम्बाले बताए ।
भूकम्पपछि पुनःनिर्माणसँगै इँटाको माग अत्यधिक बढेको थियो। मागअनुसार उपलब्ध गराउन नसकिरहेको अवस्थामा असिना पानीले इँटा नष्ट गर्दा थप समस्या भएको उनको भनाइ छ ।
असिना पानीका कारण इँटा उत्पादनसमेत रोकिएको उनले बताए । इँटा पोल्ने कार्य रोकेर आगो लगाउने काम नै बन्द गरिएको छ । भक्तपुरमा आजदेखि बिस्केट जात्रा शुरु भएका कारण इँटा उत्पादन गर्न ढिलाइ हुने भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०९:००