सूचनाको शक्ति - The Power Of Information

        

कालो तारले कुरुप बनाएको काठमाडौं शहर

काठमाडौं । प्रकृतिले नेपालको राजधानी काठमाडौंलाई सुन्दर बनाएको छ । तर, मानवीय गतिविधिले काठमाडौंलाई दिनदिनै कुरुप बनाउँदै लगेको छ । यहाँका अव्यवस्थित सडकबारे त सबैलाई जानकारी छ । तर, योभन्दा कम अव्यस्थित छैन, यहाँ टाँगिएका बिजुली, टेलिफोन, इन्टरनेट, टेलिभिन केबलका तार ।
ती तारहरुले राजधानीलाई कुरुप बनाउनुका साथै नागरिकलाई दुर्घटनाको जोखिममा पनि पारको छ । नेपालको केन्द्रीय राजधानी काठमाडौंलाई अस्तव्यस्त सहर भन्दा अत्युक्ति हुँदैन । यहाँका प्राय सडक जीर्ण छन् । खाल्डाखुल्डी, धुलैधलो छ यहाँका सडकमा । यातायातका साधन अव्यवस्थित पार्किङ, भीडभाड छ । तर, यतिमा सीमित छैन राजधानी काठमाडौं अस्तव्यस्तता ।
यहाँ टाँगिएका बिजुलीका तार, टेलिफोन, इन्टरनेट, केबल आदिका अव्यस्थित तारले राजधानीलाई कुरुप बनँएको छ । यसरी टाँथिएका तारमध्ये करिब ७० प्रतिशत प्रयोग विहीन छन् । ती तारले राजधानीको सौन्दर्यमा गिरावट ल्याउन कुरा त छँदैछ, ती तारबाट नागरिक पनि असुरक्षित छन् । यस्तो अव्यस्थित तारको व्यवस्थापना जुन कम्पनीको तार हो त्यही कम्पनीले जिम्मेवारी लिनुपर्ने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउँछन् ।
उनका अनुसार ती अव्यवस्थित तारलाई व्यवस्थापन गर्न सूचना तथा सूचना प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा समन्वय गरी व्यवस्थित गर्न लागिपरेको बताए । तारलाई किन व्यवस्थापन नगरेको भन्ने प्रश्नमा केन्द्रीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले पर्याप्त अधिकार नभएकाले धक फुकाए काम गर्न नपाएको प्रतिक्रिया दिए ।
महानगरपालिकाभित्रको समस्यालाई समधान गर्न जिल्लाबाट स्थानीय तहमा अधिकार प्रत्यायोजन नभएकाले पूर्वाधारमा देखिएका समस्यालाई समाधान गर्न नसकेको बताए । तर, यही चैत २८ गतेबाट जिल्लामा रहेका निकायबाट स्थानीय तहमा अधिकार हस्तान्तरण हुने र त्यसपछि यी यावत समस्यालाई तीव्ररुपमा समाधान गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
गल्लीदेखि सडकसम्म अव्यवस्थितरुपमा झुण्डिएका तारले सर्वसाधरणदेखि यातायातका साधनसम्मलाई समस्या परेको अनामनगरका स्थानीय प्रदिप रिजालले बताए । उनले तार मात्रै थप्ने तर त्यो तारलाई व्यवस्थित गर्न नसक्दा सर्वसाधरण दुर्घटनाको जोखिममा रहेको बताए । यसबारे सम्बन्धित निकायलाई जनकारी गराउँदा पनि गम्भीर रुपमा नलिएको उनको गुनासो छ ।
यत्रतत्र अव्यस्थित रुपमा झण्डिएका तारले राजधानीको कुरुप बनाएको छ । यसका साथै यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । किनकि, यस्तै अव्यस्थित तारका कारण करेन्ट लागेर नागरिकको मृत्यु भएको घटना पनि छ । त्यसैले यसलाई बेलैमा व्यवस्थित बनाउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०८:१२