सूचनाको शक्ति - The Power Of Information

        

३० वर्षपछि मेलम्चीको सुरुङ ब्रेक थ्रु, चार महिनापछि पानी आउने


काठमाडौं । चर्चामा आएको करिब ३० वर्षपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ ब्रेक थ्रु हुने भएको छ । खानेपानी मन्त्रालयका अनुसारसो आयोजनाको कुल २७ किलोमिटर सुरुङ छिचोलिने भएको हो ।
चर्चामा आएको लामो समयसम्म कहिले ठेकेदारले काम नगर्दा तथा कहिले स्थानीयको अवरोधका कारण रोकिँदै आएको सुरुङ निर्माणमा उल्लेख्य प्रगति हुन लागेको हो । मेलम्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाका अनुसार आज राती सुरुङ ब्रेक थ्रु भएको हो ।
सुरुङ खन्न थालेको सात वर्षपछि सुरुङ सकिन लागेको हो । सुरुङ निर्माण सकिए पनि आयोजनाबाट काठमाडौंमा पानी आउन अझै चार महिना समय लाग्नेछ । त्यसको पछाडिको खासकारण भनेको सुरुङको मर्मत तथा प्लास्टर नै हो । सुन्दरीजल सिन्धु र ग्याल्थुम खण्ड यसअघि नै सुरुङ निर्माण कार्य सकिइसकेको छ ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालको निर्वाचनको क्रममा मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने भन्दै भोट मागेका थिए । उनले २०५६ सालमा पुनः प्रधानमन्त्री हुँदा समेत सो आयोजनाको चर्चा गरेका थिए । आयोजनाका अनुसार सोमबार साँझसम्म आयोजनाको करिब ८ मिटरमात्रै सुरुङ खन्न बाँकी रहेको थियो ।
मेलम्ची खानेपानी आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ । सुरुङको ढलान तथा मर्मत गरेर छिट्टै काठमाडौंमा पानी ल्याउने योजनाका साथ काम भइरहेको निर्देशक देवकोटाले बताए । उनका अनुसार ठेकेदार परिचालनमा विशेष जोड दिइएको छ । छिट्टै सुरुङ मर्मत कार्य सकिन्छ र राजधानीमा मेलम्चीको पानी आउने सपना समेत पूरा हुनेछ ।
तीन भागमा विभाजन गरेर सुरुङ खनिँदै आएकोमा सोमबार राती भने ग्याल्थुम सिन्धु खण्ड ब्रेक थ्रु भएको हो । सुरुङ खन्ने काम प्राविधिक रुपमा सकिएपनि आयोजनाले यही चैत २९ गते बिहीबारमात्रै सार्वजनिक गर्ने जनाएको छ । आयोजनामा एसियाली विकास बैंकले ८ अर्ब ७४ करोड रकम ऋणवापत उपलब्ध गराएको हो ।
आयोजनाबाट प्राप्त हुने पानी काठमाडौं उपत्यकाबासीका लागि बरदान सावित हुने विश्वास लिइएको छ । लामो समय काकाकुल जसरी बस्दै आएका काठमाडौंबासीलाई सहज रुपमा खानेपानी सेवा दिन आयोजना प्रभावकारी हुने विश्वास लिइएको छ । लार्के र याङ्ग्रीको पानी समेत थप गरेर आयोजनाबाट उल्लेख्य रुपमा पानी ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०५:१७