सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्राष्ट्रियस्तरको नमस्ते एकेडेमी रुपन्देहीमा

तिलोत्त । तिलोत्तमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले रुपन्देहीमा नमस्ते एकेडेमी शैक्षिक संस्था सञ्चालनमा ल्याइएको छ । अन्तर्राष्ट्रिय विद्यालय सेन्टजोन ग्रुप अफ स्कुलको शैक्षिक व्यवस्थापनमा विद्यालय सञ्चालनमा ल्याइएको हो । सेन्टजोनकै शिक्षकबाट समेत पठनपाठन हुने गरी सञ्चालनमा ल्याइएको नमस्ते एकेडेमीको सोमबार उदघाटन गरिएको छ ।
विद्यालयको उदघाटन गर्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले रुपन्देहीको मात्र नभएर मुलुककै शैक्षिक विकासमा नमस्ते एकेडेमी बलियो इटाको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । सेन्टजोन ग्रुप अफ स्कुल चेन्नईका अध्यक्ष डा. आर किशोरकुमारले बालबालिकाहरुको मनोविज्ञान बुझेर उचित वातावरणमा पठनपाठन गराइने भएकाले शैक्षिक गुणस्तरप्रति आकर्षित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, प्याव्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, प्याव्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष अनन्तराम शर्मा, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, राजनीतिज्ञ विश्वास बराल, श्याम खरेल लगायतले शैक्षिक सफलताको शुभकामना व्यक्त गर । कक्षाकोठामा सिसिटिभी जडान गरेर निगरानीको व्यवस्था गरिएको, डिजिटल प्रणालीबाट पठनपाठन गराइने, एकेडेमीमै बालबालिकाहरुलाई डान्स, म्यूजिक र योगाका नियमित कक्षाहरु समेत सञ्चालन गरिने भएकाले बालबालिकाहरुलाई पढाइमा कुनै बोझ नहुने विद्यालयका अध्यक्ष विष्णु प्रसाद भुसालले बताए । बालबालिकालाई व्यावहारिक, जीवनोपयोगी र प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । एसीजडित बस र कक्षाकोठाहरु रहेकाले बालबालिकाहरुका लागि पढ्ने वातावरण रहेको र शिक्षकहरुले घरायसी वातावरणमा पठनपाठन गराउने प्राचार्य राजेन्द्र कुँवरले बताए । साढे २ बिगाहा क्षेत्रफलमा बनेको नमस्ते एकेडेमीमा एसी जडित ६६ वटा कोठाहरु रहेका छन् । एकेडेमीमा हालसम्म ४० करोड लगानी भएको र निकट भविष्यमै लगानी वृद्धि गरी ५० करोड पु¥याइने अध्यक्ष भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १७:५२