देशमा ठूला—ठूला राजनीतिक परिवर्तन भए, भइरहेका पनि छन् । हिजो धर्म सापेक्ष हिन्दू राष्ट्र नेपाल, आज धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्रका रुपमा परिणत भइसकेको छ । विभिन्न व्यवस्थाका कारण देशमा विकास हुन नसकेको कुरा ग¥यौँ । राणा, पञ्चायत अनि राजा सबैलाई फाल्यौँ । हामी कत्ति क्रन्तिकारी, हाम्रा नेता झनै क्रान्तिकारी । जस्तोसुकै व्यवस्था फाल्न सक्ने । हामी र हाम्रा नेता । करिब सबै पार्टीका आफ्ना नेतालाई सरकारमा पुर्यायौँ । हामी कत्ति खुशी भयौँ तर हामीले आफूले आफैँलाई बुझ्न सकेनौँ । जस्तोसुकै व्यवस्था परिवर्तन गर्न सक्ने हामीले आफूले आफैँलाई परिवर्तन गर्न कहिल्यै सकेनौँ । जसको परिणाम नै हो कालिञ्चोक गाउँपालिका केन्द्र निर्धारण सम्बन्धमा देखिएको विवाद ।
सिंहदरबारको अधिकार गाउँमा पु¥याउन हामी कत्ति आतुर थियौँ । भूगोलको वितरण वैज्ञानिक थिएन त्यसैले वैज्ञानिक तवरले गाउँपालिका निर्धारण भए । देशभरिमा ७५३ गाउँपालिका भए । अब निर्वाचन हुनुपर्छ अनि विकास हुन्छ, सबैलाई सपना बाढ्यौँ । बाढ्नु पर्ने पनि थियो किनकि विश्व मानचित्रमा हामी धेरै पछि परिसकेका छौँ । स्थानीय निर्वाचन नभएको पनि दुई दशक पुग्न लागिसकेको थियो । स्थानीय मात्र नभएर तिनै तहको निर्वाचन सम्पन्न ग¥यौँ । विगतमा कमजोर सरकार बन्थे त्यसकारण विकास नभएको भन्यौँ । बलियो सरकारका लागि मत दियौँ, दुई तिहाइभन्दा बढीको मत जितेको बलियो सरकार बनायौँ, तर विकास खै ? लक्षण पनि त छैन । हो, मूल्याङ्कन गरिहाल्न अलि हतार भएको होला तर लक्षण मात्र खोजेको हो, पाइएन । सबै प्रश्नको उत्तर हो — हामी आफू परिवर्तन भएका छैनौँ । जहिलेसम्म आफू परिवर्तन हुँदैनौँ तहिलेसम्म विकास असम्भव ।
गोपाल घिमिरे
दोलखा अत्यन्त सुन्दर हिमाली जिल्ला । जहाँ दुई नगरपालिका र सात गाउँपालिका रहेका छन् । हरेक गाउँपालिकाका आ—आफ्नै ऐतिहासिक विशेषता रहेका छन् । तिनै मध्ये एक ऐतिहासिक महत्व बोकेको गाउँपालिका हो, कालिञ्चोक । जसको केन्द्र निर्धारण सम्बन्धमा अझै विवाद छ । मिल्ने र मिलाउने चरित्र पनि देखिँदैन । पहुँचका भरमा पहिला साविकको सुनखानी गाविसमा गाउँपालिका केन्द्र तोकियो । निर्वाचन भएपछि उपयुक्त ठाउँमा निर्वाचित जनप्रतिनिधिले केन्द्र राख्छन्, भनियो । निर्वाचन भयो । सधैँ एमालेको संगठन बलियो रहेको दोलखाको कालिञ्चोक गाउँपालिकामा पनि एमाले विजय भयो । ९ वटा वडामध्ये ७ वटा वडा एमालेको कब्जामा ।
शुरु भयो, स्थानीय शासन । कालिञ्चोकमा चौँरी महोत्सव गरियो तर कालिञ्चोककै पत्रकार, सञ्चारकर्मी,बुद्धिजीवी कसैलाई सकेसम्म थाहा नदिने प्रयत्न भयो । जनतालाई त गुमराहमा पार्ने प्रयत्न छँदै थियो । किनकि त्यहाँ प्रमुख, उप—प्रमुखको स्वार्थ मिलेको थियो । स्पष्ट बहुमत छँदै थियो । चौँरी महोत्सव नाम मात्रको भयो, उपयोगिता लगभग शून्य नै ।
फेरि शुरु भयो, गाउँपालिकाको स्थायी केन्द्र निर्धारण गर्ने । यहाँ प्रमुख, उप—प्रमुख मात्र नभएर वडा अध्यक्ष पनि विभाजित भए,सँगसँगै जोडिए जिल्ला समन्वय समितिका संयोजक पनि । स्वार्थ आ—आफ्नै । प्रमुख थिए, साविक लापिलाङ गा.वि.स.का विनकुमार थामी । उप—प्रमुख थिइन्, साविक सुनखानी गा.वि.स. की कालिका पाठक । दुबैलाई आ—आफ्नो ठाउँमा केन्द्र चाहिने जनता जहाँ जान्छन्, जाऊन् । सुनखानी कालिञ्चोक गाउँपालिका मध्येकै पद, प्रतिष्ठा, पहुँच र पैसामा पनि धेरै अगाडि । त्यसमा पनि पहिला अस्थायी केन्द्र तोकिसकिएको ठाउँ ।
जो कोहीलाई आफ्नो ठाउँमा भइसकेको केन्द्र अन्यत्र लैजाँदा मन दुख्नु स्वाभाविकै पनि हो । सुनखानीबासीको असन्तुष्टि आफैँमा स्वाभाविक भए पनि प्राकृतिक न्यायको सिद्धान्तभित्र पनि नपर्नै ठाउँ हो, कालिञ्चोक गाउँपालिकाको केन्द्रका लागि सुनखानी । ३ नं. प्रदेशको राजधानी हेटौँडा हुनु र कालिञ्चोक गाउँपालिकाको केन्द्र सुनखानी हुनु उस्तै—उस्तै हो । सुनखानी केन्द्रका लागि वैज्ञानिक ठाउँ थिएन, विवाद त शुरु भयो तर यो विवादलाई गाउँपालिका प्रमुखले बुद्धिमत्तापूर्ण तवरले सुल्झाउन सक्नुपथ्र्यो । प्रमुख आफैँ चल्न सकेनन् । पर्दापछाडिबाट चलाइरहेका थिए जिल्ला समन्वय समितिका संयोजक डबल पान्डेले । संयोजक पान्डे र प्रमुख थामी दुबै साविक लापिलाङ गा.वि.स.का । पर्दा पछाडिका ड्राइभर पान्डेको निर्देशनमा थामीले आफ्नै ठाउँ लापिलाङ लैजाने प्रस्ताव राखे । भूगोलका दृष्टिले लापिलाङ केन्द्रमै पर्छ तर केन्द्रका लागि केही पनि छैन, लापिलाङमा । फेरि जनसङ्ख्याको सुविधाको हिसाबले पनि लापिलाङ उपयुक्त थिएन । खासै संरचना पनि छैन लापिलाङमा । आवश्यक सार्वजनिक जग्गा नभएको ठाउँमा व्यक्तिले जग्गा दिने हौवा फैलाइयो । त्यहाँभित्रको खेल थियो, केही जग्गा केन्द्रका लागि दिएजस्तो गर्ने र बाँकी सयौँ रोपनी जग्गा सस्तोमा लिएर महङ्गोमा बेच्ने योजनामा थिए, संयोजक पान्डे र प्रमुख थामी । साँच्चि नै समग्र गाउँपालिकालाई आगाडि बढाउन केन्द्रका लागि कति जग्गा चाहिएला भन्ने सामान्य हेक्का पनि राखेनन् संयोजक पान्डे र प्रमुख थामीले । फलस्वरुप प्रमुख, उप—प्रमुखका बीचमा भौतिक आक्रमणसम्म भएका खबरहरु छताछुल्ल भए । उता भर्खरै संयोजक पान्डे पनि सुनखानीका स्थानीयबासीको नजरबन्दमा परे । प्रमुख गाउँपालिका बैठक राख्न नसकेर बिरालोले ठाउँ सारे जसरी विभिन्न ठाउँमा बैठक बोलाउँदै हिँडेका छन् । नेताबीच झगडा हुनु सामान्य कुरा हुन सक्ला तर विकासमा पनि कालिञ्चोक पछाडि पर्ने निश्चित जस्तै हुन लागिसकेको छ ।
रह्यो केन्द्र कहाँ उपयुक्त छ त ? उप—प्रमुखको सुनखानी पनि वैज्ञानिक छैन र प्रमुख अनि संयोजकको लापिलाङमा उपयुक्त जग्गै छैन । प्रश्न उठ्नु स्वाभाविकै हो । यसको सहज र सरल उत्तर छ, कालिञ्चोक वडा नं. ३ को पोखरे अर्थात् साविक लामिडाँडा गा.वि.स. को केन्द्र पोखरे । सडक सञ्जालले छोएको प्रशस्त सार्वजनिक जमिन भएको ठाउँ पोखरे हो । हुन त एउटै आमाको कोखबाट जन्मेका दाजुभाइ, दिदीबहिनीको त कुरा मिल्दैन । यदि पोखरेमा पनि ९ वटा वडामा वडा नं. ३ कसरी केन्द्र हुन्छ भन्ने प्रश्न उठ्न सक्छ । त्यसोभए अझ उपयुक्त ठाउँ छ, वडा नं. ४ को थलहारी । ९ वटा वडामध्ये बीचमा पर्ने वडा भनेका ४ र ५ नै हुन् । वडा नं. ५ मा उपयुक्त जग्गा नै छैन । फेरि जनताको बसाईका दृष्टिले सबै जनतालाई जोड्न सक्ने सडक सञ्जाल नभएकाले त्यति पायक नि पर्दैन । वडा नं. ४ सबैभन्दा उपयुक्त देखिन्छ । जहाँ ग्राउण्ड बनाउन समेत प्रशस्त जमिन छ । हिलेपानी सँस्कृत विद्यालयको नाममा रहेको एक तले पक्की घर पनि छ । जुन घर अहिले विद्यालयले उपभोग गरेको छैन । अव आधारभूत शिक्षा गाउँपालिकाले हेर्ने भएपछि त्यो त्यत्तिकै रहेको घर आनन्दले गाउँपलिकाले प्रयोग गर्न सक्छ । उता बिल्डिङ बनाउने खर्च समेत बच्ने भयो । त्यस्तै गाउँपालिका भित्रका साविक कालिञ्चोकदेखि शुन्द्रावती र सुनखानी अनि लापिलाङ सबै ठाउँका जनतालाई जोड्ने दुवैतिरको सडक सञ्जाल पनि वडा नं. ४ को थलहारीमा पुगेको छ । अप्पर तामाकोसी जाने मूल सडकभन्दा केही माथि र लापिलाङतिरबाट साङबा जाने मूल सडकसँगै केही मुनि थलहारी पर्छ । मूल सडकबाट जाने ट्रयाक रोड पनि थलहारीमा पुगिसकेको छ । यहाँभन्दा उपयुक्त ठाउँ कालिञ्चोकभरि कहीँ पाइन्न ।
हुन त सबैको चित्त नबुझ्ला, सबैलाई चित्त बुझाउन सकिन्न पनि । अधिकतम उपयुक्त र अधिकतम सहमति खोज्ने हो । यसका लागि वडा नं. ४ को थलहारी कालिञ्चोक गाउँपालिकाको निर्विकल्प केन्द्रका लागि ठाउँ हुँदाहुँदै केन्द्र निर्धारणमा विवाद झिकियो । किनकि हामी आफू परिवर्तन हुँदैनौँ, अरुलाई परिवर्तन गराउन खोज्छौँ । आफू स्वार्थ राख्छौँ, अरुलाई निस्वार्थी बनाउन खोज्छौँ अनि विकास कसरी सम्भव छ ? पहिला आफू परिवर्तन होऔँ अनि मात्र हामीले कल्पेको नयाँ नेपाल बन्ने छ । आफ्नो भन्दा अरुको हितमा काम गरौँ अनि विकास सम्भव छ ।
।