सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक ५४ लाख लिटर पानी अभाव हुन थालेको छ । प्रदेशको राजधानी तोकिएसँगै यहाँको बढ्दो सहरीकरणले जनसंख्या बढ्दै गएपछि खानेपानी अपुग हुन थालेको हो ।
वीरेन्द्रनगर उपत्यकामा झण्डै डेढ लाख जनसंख्या रहेको अनुमान गरिएको छ । वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक एक करोड ८८ लाख लिटर खानेपानी आवश्यक भएपनि सुर्खेत उपत्यका खानेपानी संस्थाले दैनिक १ करोड ३३ लाख लिटर खानेपानी मात्र उपलब्ध गराउँदै आएको छ ।
सुर्खेत उपत्यका खानेपानी संस्थाको पानीको मुख्य स्रोत मानिएको झुप्राको मुहानमा पानी कम हुँदै गएपछि उपत्यकामा पनि खानेपानी अभाव हुन थालेको सुर्खेत उपत्यका खानेपानी संस्थाका कार्यालय प्रमूख डम्मरबहादुर गौतमले जनाए । उपत्यकामा झुप्रा खोला, खरिखोला, बोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुलेबाट खानेपानी उपलब्ध गराउँदै आएको छ ।
पुरानो लाइनका पाइपहरु जिर्ण हुँदै गएपछि हुने खानेपानी चुहावटले पनि उपत्यकाको खानेपानीमा असर गरेको कार्यालय प्रमूख गौतमले बताए । खानेपानी वितरण लाईनका केही स्थानमा पाइपहरु पुराना भई जिर्ण हुँदै गएपछि पानी चुहावट भएको बताइएको छ । संस्थाले वीरेन्द्रगरमा हाल २४ घण्टामा एक पटक उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।
सुर्खेत उपत्यकामा झण्डै २० वर्षसम्म खानेपानीको समस्या नहुने भनेर २०५६ सालबाट निमार्ण सुरु गरेको सुर्खेत उपत्यका खानेपानी आयोजनाले २०६७ सालबाट पानी वितरण गरेको थियो । पानी वितरण सुरु गरेपछि २० वर्ष पानीको समस्या नहुनेमा ढुक्क भएका सुर्खेतबासी तीन वर्ष नपुग्दै आयोजनाले हप्ता बिराएर पानी वितरण गर्न थालेपछि पुरानै मुहान बुलबुले र चिसापानीको ढुंङ्गेधारामै निर्भर हुनुपरेको छ ।
।