सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीले नै भारु नोट साट्न नसकेपछि…


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिबन्धित ५०० र १००० को भारतीय नोट साट्न सकेनन् । तीन दिने भारत भ्रमण सकेर ओली आइतबार नेपाल फर्किएका छन् । भारत भ्रमणको विषयमा परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले दिएको विज्ञप्तीमा भारतीय मुद्रा सटहीबारे कुनै कुरा उल्लेख गरिएको छैन ।
भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालका दुई जना प्रधानमन्त्री पुष्प कमल दाहाल र शेर बहादुर देउवाले पनि नोट साट्न सकेका थिएनन् । अहिले नेपालको वित्तिय प्रणालीमा रहेको ५०० र १०० हजार दरका ७ करोड भारु साटिएको छैन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१६ को नोभेम्बर ९ तारिखदेखि ५०० र एक हजार दरका भारतीय नोटमाथि प्रतिबन्ध लगाएका थिए । तर पनि नेपाली प्रणालीमा रहेको ५०० र १००० दरका भारु साटिएनन् । नेपालमा एक जना व्यक्तिले २५ हजारसम्म भारतीय मुद्रा राख्न पाउने व्यवस्था छ ।
भुटानले भने आफ्नो प्रणालीमा रहेको भारु साटिसकेको छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भारु सटहीलाई उच्च प्राथमिकताका दिने बताइए पनि यो विषयमा कुरा नै उठान हुन नसकेको बताइएको छ । ओलीको भारत भ्रमण अगाडी भारु सटहीको मुद्दालाई महत्वका साथ उठाउने गरी राष्ट्र बैंकले सरकारलाई ब्रिफिङ गरेको राष्ट्र बैंकले बताएको थियो ।
यसअघि नोट बन्दीमा परेको भारतीय मुद्रा सटहीबारे छलफल गर्न नेपाल आएको रिजर्भ बैंक अफ इण्डियाको टोलीले प्रतिव्यक्ति ४५ सय भारु साटिदिने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार नै साटिदिनुपर्ने अडान राखेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ०८:५१