सूचनाको शक्ति - The Power Of Information

        

सुनचाँदी कर्जा अब असल, तोकियो १० लाख सीमा


काठमाडौं । नेपाल राष्ट्र बैंकले असल कर्जाको सीमालाई केही फराकिलो बनाउँदै सुनचाँदी कर्जालाई समेत त्यसमै गणना गर्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको बैंक तथा बित्तीय संस्था नियमन विभागले चैत २२ गते एक निर्देशन जारी गर्दै पर्याप्त सुरक्षण लिई प्रतिग्राहक बढीमा १० लाख रुपैयाँसम्म प्रवाह भएको सुनचाँदी कर्जालाई समेत असलमै गणना गर्न पाइने व्यवस्था गरिएको बताएको हो ।
यसअघि केन्द्रीय बैंकले सुनचाँदी कर्जालाई असलमा गणना गर्ने पुरानो व्यवस्था हटाएको थियो । त्यो व्यवस्थाले वाणिज्य बैंकहरुले गाउँगाउँमा पुुगेर सुनचाँदी धितो राखी कर्जा प्रवाह गर्न अप्ठ्यारो अवस्था सिर्जना भएको थियो । वाणिज्य बैंकहरु सबै स्थानीय तहमा पुुग्ने क्रम बढेसँगै सुनचाँदी धितो राखेर कर्जा प्रवाह गर्ने क्रमसमेत बढेको, तर यो कर्जालाई असलमा गणना नगर्दा अप्ठ्यारो भएको भन्ने गुनासोको आधारमा राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको केन्द्रीय बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।
उनका अनुसार मुद्दती रसिदको धितोमा गएका कर्जा तथा सापटहरु पनि असल कर्जामै पर्दछन् । यस्तै, नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा गएका कर्जा तथा सापट तर, अतिरिक्त धितो सुरक्षण बापत मुद्दति रसिद वा नेपाल सरकारको सुरक्षणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्र धितो राखी कर्जा प्रवाह गरेमा त्यस्ता कर्जा तथा सापटहरुलाई पनि असल कर्जामै वर्गीकरण गर्न पाइनेछ । बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालु पुँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिने व्यवस्था छ ।
इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्युनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा नवीकरण गर्नुपर्ने प्रावधान छ । चालु पुँजी प्रकृतिका कर्जाहरुमा प्राप्त हुनु पर्ने ब्याज नियमित नभएको अवस्थामा त्यस्तो कर्जालाई ब्याज वक्यौता अवधिको आधारमा वर्गीकरण गर्नुपर्ने राष्ट्रबैंकको निर्देशन छ ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतवार ११:१२