
बागलुङको गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा मह शिकार गर्दै शिकारी ।
बागलुङ । गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा शनिबार मह शिकार गरिएको छ । पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए । छत्तिस वर्षपछि उक्त भिरमा मह शिकार गरिएको हो । पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो ।
मह शिकारमा गलकोट नगरपालिका–१० पाण्डवखानीका अनुभवी शिकारी संलग्न थिए । बन्दोवस्तीका सामानसहित १६ जनाको टोली मह शिकारमा खटिएको थियो । शिकारी टोलीको नेतृत्व ५४ वर्षीय धनबहादुर घर्तीले गरेका थिए । ज्यानकै बाजी लगाएर कहालीलाग्दो भिरमा मह शिकार गरेको हेर्न सयौं सर्वसाधारणको भिड लागेको थियो ।
अन्य सहयोगीको साथमा मह काढ्ने काम टोली प्रमुख घर्ती र ३६ वर्षीय नवीन रानाले गरेका थिए । बाँसको चोया र काठ प्रयोग गरी बनाइएको भ¥याङ (पराङ)मा झुण्डिएर शिकारीले मह काढेका थिए । परम्परागत प्रविधि अपनाएर मह काढिएको शिकारी रानाले बताए । ‘हाम्रा पूर्खाले जसरी मह शिकार गर्थे, त्यही प्रविधि र सीप हामीले अपनाएको छौं,’ उनले भने । मह शिकारमा पराङ, सुथरी, झापा, दाबिलो, डोरी लगायतका सामग्री प्रयोग हुने गरेको उनको भनाइ थियो ।
शिकारी टोलीले शिकारमा जाँदा आफूसँग भएका ती सामग्री साथै लिएर जाने गर्दछन् । आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनोट हुने गरेको प्रमुख शिकारी घर्तीले बताए । ‘जिन्दगी दाउमा राखेर शिकार खेल्नुपर्छ,’ उनले भने, ‘यो निकै साहसिक र जोखिमपूर्ण काम हो ।’ बाउबाजेका पालादेखि नै मह शिकारको चलन रहेकाले आफूहरुले पनि निरन्तरता दिएको उनको भनाइ थियो ।
निलुवा मौरीभिर पनि महको लागि उत्तम रहेको र शिकारका लागि जेठ महिना उपयुक्त मानिन्छ । दुई घारको मात्र मह शिकार गर्दा झण्डै १० किलो मह निस्केको महोत्सव अवलोकनका लागि आएका दर्शकलाई मह बाँडिएको केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताए । ‘अहिले प्रचारात्मक हिसाबले मात्र मह शिकार गरिएको छ,’ उनले भने, ‘शिकारीकै सुझावमा धेरै घारको मह काढेनौं ।’
भर्खर मौरीले मह जम्मा गर्न शुरु गरेको हुँदा जेठमा सबै घारको मह काढ्न उपयुक्त हुने शिकारीले सुझाव दिएका थिए । उक्त भिरमा २० भन्दा बढी भिरमौरीको घार छन् । पहिलो पटक पर्यटन प्रवद्र्धनका रुपमा मह शिकार महोत्सव राखिए पनि पछि यसलाई व्यावसायीकरण गराइने र अध्यक्ष सुवेदीले बताए । ‘बिरलै हुने गरेको मह शिकार निलुवामा गरेका छौं,’ अध्यक्ष सुवेदीले भने, ‘यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास छ ।’
मह शिकार साहसिक कला भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ । महोत्सवका लागि गलकोट नगरपालिका, निलुवा समाज जापान लगायतका संघ संस्था र व्यक्तिले आर्थिक जुटाएका थिए । पछिल्लो समय निलुवा प्राकृतिक सुन्दरतायुक्त पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । लेकाली हावापानीमा अवस्थित निलुवामा पर्यटकीय पूर्वाधारको भने अभाव छ । बागलुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि निलुवा पुग्न सकिन्छ ।
।