सूचनाको शक्ति - The Power Of Information

        

राजकीय भ्रमण सकेर प्रधानमन्त्री ओली स्वेदश फर्कदै


काठमाडौं । तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । पूर्वनिधारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आज बेलुकी ८ बजे नेपाल वायु सेवाको विमानबाट स्वदेश फर्कर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै भारतको उत्तराखण्ड राज्यस्थित गोविन्द बल्लभ पन्त कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्ने भएको छ ।
यसका लागि नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री ओली सहित नेपाली प्रतिनिधिमण्डल आज बिहान भारतीय समय अनुसार पौने ११ बजे पन्तनगरका लागि विमान चढेका थिए । करिब एक घण्टाको विमान यात्रापछि मध्याह्न १२ बजे उनी विश्वविद्यालय पुगेको जनाइएको छ । साढे १२ बजे प्रधानमन्त्री ओलीले ब्रिडर सिड प्रोडक्सन सेन्टरको अवलोकन गरेका छन् ।
त्यसैगरी पौने १ बजे इन्टिग्रेटेड फार्मिङ प्रोजेक्टको भ्रमण गर्ने कार्यक्रम छ । दिउँसो १ बजे युनिभर्सिटीको गान्धी हलको एडमिनिस्ट्रेटिभ ब्लकमा आयोजना हुने विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित हुनेछन् । पौने ४ बजे विश्वविद्यालयबाट प्रधानमन्त्री ओली पन्तनगरस्थित विमानस्थलबाट दिल्लीका लागि प्रस्थान गर्नेछन् । दिल्लीबाट साँझ ६ बजे नेपाल वायुसेवा निगमको विमानले काठमाडौंका लागि उडान हुनेछ ।
बेलुकी ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि राजकीय भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई विशेष स्वागत गरिनेछ । प्रधानमन्त्रीले विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गरी भ्रमणको उपलब्धिबारे जानकारी दिनेछन् । ओली गत शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ५४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भारत गएका हुन् । भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका ओली भ्रमण सकाएर साँझ स्वदेश फर्कन लागेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतवार ०७:०१